मिल्याे वाम भागवण्डा : राष्ट्रपति एमाले, सभामुख माओवादी
काठमाडौं । एमाले र माओवादी केन्द्रले राष्ट्रपति, सभामुखलगायतका राजकीय पदमा भागवण्डा पनि टुङ्याएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले एक विशेष भेटमा मन्त्रालय र राजकीय पदको भागवण्डा लगभग अन्तिम चरणमा पुर्याएका हुन् ।
माआेवादी निकट एक स्राेतका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष लिनेछ ।
एमालेले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर सभामुख आफूलाई दिन प्रस्ताव गरेको छ । संविधानसभाका तत्कालीन अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङलाई फेरि सभामुख बनाउने एमाले अध्यक्ष ओलीको प्रस्ताव थियो ।
तर, माओवादीले मानेको छैन । माओवादीमा सभामुखको प्रमुख दाबेदारका रुपमा कृष्णबहादुर महरालाई हेरिएको छ । यद्यपि मधेसी दलहरुलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेकाले उनीहरुसँग सहमति भएको अवस्थामा केही हेरफेर हुन सक्ने नेताहरु बताउँछन् ।