यसरी हुँदैछन् राष्ट्रपति निर्वाचनका बेला सबै प्रदेश 'मन्त्री र सांसदविहीन'
काठमाडाैं । भर्खरै प्रदेश सरकार गठन भएर काम सञ्चालन हुन थालेको बेला आगामी एक महिनाभित्र सबै प्रदेशहरू कम्तीमा दुई दिन 'मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यविहीन' हुने भएका छन्।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राजधानी काठमाडाैंमा नै गर्ने निर्णय गरेकाले यस्तो अवस्था आउन लागेको हो। संघीय संसद् र सबै प्रदेशसभाका सदस्यहरू भिन्न मितिमा गरिने राष्ट्रपति र उपराष्ट्रपतिका निर्वाचनमा मतदाता हुन्छन्।
राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ। संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिको निर्वाचनको परिणाम घोषणा भएको सात दिनभित्र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिनुपर्छ। उपराष्ट्रपतिको निर्वाचनमा पनि मतदान गर्न सात वटै प्रदेशसभाका सदस्यहरू पुन: राजधानी आउनेछन्।
ती दुई पदका लागि काठमाडाैंमै मतदान गराउने आयोगको निर्णयप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
छोटो समयमै दुई पटक मतदान गर्न काठमाडाैं जाँदा सांसदहरूलाई आर्थिक भार पनि पर्ने बताउँदै प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्र शाहीले भने, "प्रदेशको व्यवस्थापनका लागि रातदिन काम गर्नुपर्ने बेला सबैले प्रदेश नै छोडेर जानु राम्रो होइन।" उनका अनुसार प्रदेशमै मतदान गरेर केन्द्रमा पठाउने व्यवस्था गरिनु उपयुक्त हुन्छ।
शाहीको जस्तै धारणा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पनि छ। उनले भने, "कुनै निर्वाचनका कारण प्रदेश खाली हुने अवस्था आउनु राम्रो होइन। अझै समय छ, निर्वाचन आयोगले प्रदेशमै निर्वाचन गर्ने व्यवस्था गर्नु राम्रो हुन्छ।" उपराष्ट्रपतिको पनि निर्वाचन हुने बताइएको छ।