राजनीति मुख्य समाचार

रणनीतिक समयमा परम्परागत शक्तिले गडबड गरेः अध्यक्ष दाहाल

रणनीतिक समयमा परम्परागत शक्तिले गडबड गरेः अध्यक्ष दाहाल

 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियाबाट डराएर परम्परागत शक्तिले अनावश्यक रुपमा गडबड गर्न सक्ने संकेत गरेका छन् । 

अध्यक्ष दाहालले भने, “नेपालको राजनीतिक इतिहासमा रणनीतिक समयमा परम्परागत शक्तिले गडबड गरेको इतिहास छ । ठूला पार्टीबीचको एकता प्रक्रिया आम जनताले अनुमोदन गरेको भए पनि परिवर्तन नचाहने प्रवृत्तिलाई मन परेको छैन ।” 

रामराजा रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास एक माक्र्सवादी दृष्टिकोण’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बृहद् बहस सिर्जना गरेको र परिवर्तनकामी समुदायमा खुसीको सञ्चार गरेको बताए । 


फरकफरक राजनीतिक दृष्टिकोणका साथ राजनीतिक मैदानमा रहेको एमाले र माओवादीबीचको एकता सामान्य परिघटना मात्रै नभई नयाँ इतिहासको समेत सुत्रपात भएको उनकाे भनाइ थियाे । 

“कम्युनिस्ट आन्दोलनमा नयाँ विमर्श, नयाँ बहस शुरु भएको छ । केहीलाई मन नपर्न सक्छ । तर राजनीतिक इतिहासमा एउटा महान् प्रक्रिया शुरु भएको छ । यसलाई सफल बनाउनु हामी सबैको दायित्व हो”–अध्यक्ष दाहालले भने । 

नेपालमा पहिलोपटक करिब दुईतिहाई मतका साथ वामपन्थी सरकार गठन भएको र जनताको अपेक्षालाई क्रमबद्ध रुपमा सम्बोधन गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । वामपन्थी शक्ति मिलून् भन्ने जनताको विगत लामो समयदेखिको अपेक्षा रहेको भए पनि नेतृत्वले सकारात्मक पहल गर्न नसक्दा सफल नभएको दृष्टान्त पेश गर्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अगाडि भएको वामगठबन्धनको निर्णयलाई जनताले अनुमोदन गरेको स्पष्ट पारे । 

राजनीतिक स्थायित्वलाई संस्थागत गर्न आर्थिक समृद्धि र विकासको नारा अगाडि सारिएको स्पष्ट पार्दै उहाँले जनताको अपेक्षा सम्बोधन गर्न वामपन्थी शक्ति एकाकार भएर लाग्ने बताए । 

फरक एक प्रसंगमा उनले विगतमा राजा महाराजको मात्रै इतिहास लेखिने गरेको भए पनि अब नेपाली जनताको इतिहास संस्थागत हुने उल्लेख गरे । “नेपाली जनताले पूर्णरुपमा अधिकार प्राप्त गरिसके र विजयी भइनसकेको भए पनि परिवर्तन अस्वीकार गर्ने शक्ति क्रमशः पराजित हुने क्रममा पुगेको छ । अब नेपालको इतिहास जनताको पक्षमा लेखिनेछ”–अध्यक्ष दाहालले भने। 

नेपाली इतिहास जनताको पक्षबाट नलेखिएको भन्दै उनले सधैँ राजा, महाराजा र विजेता वर्गलाई नायक बनाएर जनताको भावनाको अवमूल्यन गरिएको भए पनि अब त्यस्तो हुन नदिने स्पष्ट पारे । 

पुस्तकमाथि टिप्पणी गर्दै लेखक मुरारी अर्यालले शासकले पढाएको इतिहास पढ्दै र लेख्दै आएका नेपाली जनतालाई माक्र्सवादी दृष्टिकोणबाट इतिहास पढ्ने र लेखाउने क्रम शुरु भएको बताए । जनताको दृष्टिकोणबाट इतिहास लेख्ने क्रम शुरु भएकामा लेखक अर्यालले खुसी व्यक्त गरे। 

स्तम्भकार तथा लेखक झलक सुवेदीले हरेक इतिहास सामान्तवादी कोणबाट मात्रै लेखिएको, पढाइएकाले फरक पाटो सधैँ ओझेलमा पर्ने गरेको उल्लेख गरे । उनले जनताको इतिहास लेख्ने र संस्थागत गर्ने प्रयास हुनुपर्नेमा जोड दिए । 

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य लेखक रेग्मीले लिच्छवीकालदेखि हालसम्मको नेपाली राजनीतिक घटनाक्रमलाई जनपक्षीय कोणबाट लेख्ने प्रयास गरेको बताए । जागरण बुकले प्रकाशन गरेको उक्त पुस्तक ५६४ पेजमा समेटिएको छ । 

विशेष