राष्ट्रपति बन्न कति मत आवश्यक ? हेर्नुहाेस् यस्ताे छ प्रावधान !
काठमाडौँ । राष्ट्रपति पदका उम्मेदवारले विजयी हुन २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने देखिएको छ । निर्वाचन आयोगले राष्ट्रपति चयन गर्न लागि फागुन २९ गते निर्वाचन तोकेको छ । त्यसका लागि २३ गते उम्मेदवारी दिनुपर्नेछ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ। कानुनले संघीय संसद सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ। प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५९ र सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्य राष्ट्रपति निर्वाचनका मतदाता हुन्।
संघीय संसदका ३ सय ३४ जनाको मतभार २६ हजार ३ सय ८६ तथा प्रदेशसभाका ५ सय ५० जनाको कुल मतभार २६ हजार ४ सय हो। व्यक्तिगत रूपमा मतभार संघीय सांसदको बढी भए पनि कुल संख्या प्रदेशसभाका सांसदको बढी भएकाले समूहगत रूपमा प्रदेश सांसदको मतभार बढी देखिएको छ।
निर्वाचित हुन बहुमत ल्याउनुपर्ने संविधान र कानुनमा उल्लेख गरिएकाले राष्ट्रपति बन्न कम्तीमा २६ हजार ३ सय ९४ मत पुर्याउनुपर्नेछ। निर्वाचनमा कुनै पनि उम्मेदवारले तत्काल कायम रहेको कुल मतको बहुमत नल्याए बढी मत ल्याएका दुई जनाबीच मात्रै दोस्रो पटक चुनाव हुनेछ।
त्यस अवस्थामा पनि कसैले ५० प्रतिशतभन्दा बढी मत कटाउन नसके तेस्रो पटक फेरि मतदान हुनेछ। तेस्रो पटकको निर्वाचनमा भने कुल मतदाताको हिसाब हुनेछैन। त्यतिबेला खसेको कुल सदर मतमा बढी मत ल्याएका व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन्। उपराष्ट्रपतिको हकमा पनि सोही प्रावधान लागू हुनेछ।
संघीय संसद र प्रदेशसभामा वाम गठबन्धनको ५० प्रतिशत बढी उपस्थिति देखिएकाले गठबन्धनबाट उम्मेदवार हुने व्यक्तिले पहिलो पटकमै चुनाव जित्ने सम्भावना छ।
मुलुककै सर्वोच्च पद राष्ट्रपतिका लागि उम्मेदवार हुने व्यक्ति वंशजकै आधारमा नागरिकता भएको हुनुपर्ने कानुनी प्रावधान छ। राष्ट्रपति तथा उपराष्ट्रपतिसम्बन्धी निर्वाचन ऐनमा वंशजका आधारमा नागरिकता लिएका र ४५ वर्ष उमेर पूरा भएका नागरिकले उम्मेदवारी दिन पाउने व्यवस्था छ। तर ती व्यक्ति प्रचलित कानुनअनुसार अयोग्य भने हुनु हुँदैन।
यस्तै मतदाता रहने संघीय संसद र प्रदेशसभाका सदस्यमध्येबाट पाँच जना प्रस्तावक र पाँचजना समर्थक चाहिनेछ। संघीय संसद र प्रदेशसभामा स्वतन्त्र सांसदहरू अत्यन्तै न्यून रहेकाले दलगत समर्थनबिना कसैको उम्मेदवारी सम्भव देखिन्न।