राजनीति

फोरम र राजपा बिना शर्त सरकारमा सहभागी हुनुपर्छ : महासेठ

फोरम र राजपा बिना शर्त सरकारमा सहभागी हुनुपर्छ : महासेठ

काठमाडौं । सत्तारुढ दलका नेताहरुले वर्तमान सरकार मधेसकेन्द्रित दलहरुको माग सम्बोधन गर्न लचक रहेको बताएका छन् । शनिबार राजानीमा रिपोर्टस् क्लबद्वारा आयोजित साक्षात्कारमा उनीहरुले सरकार मधेसकेन्द्रित दलहरुको मागमा लचिलो रहेको बताएका हुन् ।

 

नेकपा एमालेका रघुवीर महासेठले एमाले र माओवादी केन्द्र संविधान संशोधन गर्न तयार भएकाले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललाई बिनाशर्त सरकारमा सहभागी हुन आग्रह गरे ।

 

मधेसकेन्द्रित दल मधेसको समस्या समाधान गर्न चाहन्छन् भने सरकारमा आउनुपर्ने उनको भनाइ थियो । नेता महासेठले प्रतिपक्षमा बसेर मधेसको समस्या समाधान नहुने भन्दै उनीहरुलाई ससम्मान सरकारमा ल्याउन चाहेको जिकिर गरे ।

 

देश र जनताको हितमा संविधान संशोधन गर्न आफूहरु तयार रहेको महासेठको भनाइ छ । साक्षात्कारमा माओवादी केन्द्रका नेता रामनारायण बिंडारीले एक साताभित्र मधेसकेन्द्रित दलका नेताहरुलाई समेट्ने गरी मन्त्रिमन्डल विस्तार हुने बताए । उनले मधेसकेन्द्रित दलका नेताहरुलाई सरकारमा ल्याउन वार्ता भइरहेको जानकारी पनि दिए ।

 

राजपाका अध्यक्षमन्डलका सदस्य अनिलकुमार झाले भने संविधान संशोधन नभइ आफूहरु सरकारमा नजाने स्पस्ट पारे । उनले विगतमा संविधान संशोधनको विपक्षमा रहेको एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको उनको भनाइ थियो ।

विशेष