कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे संसदीय दलको नेता चयनलगायत पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।
निर्वाचन सम्पन्न पछि प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सांसदहरु पहिलोपल्ट संयुक्त बैठकमा सहभागी हुन लागेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसकाे प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभाका १३ गरी ७६ सांसद् छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको नेता चयन, विधान संशोधन पछिल्ला राजनीतिक घटनाक्रमका छलफल बैठकको मुख्य एजेण्डा भएको जानकारी दिए । बैठकले दलको नेता चयन प्रक्रिया सुरु गरे पनि सांसद्ले शपथ लिएपछि मात्रै नेता चयन गर्ने तयारी रहेको उनले जानकारी दिए ।
दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा , महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् ।