प्रचण्ड–ओलीको झिनो डोरी जुनसुकै बेला चुँडिनसक्छ
धीरजकुमार देवकोटा
दोस्रो पटक प्रधानमन्त्री बन्न सफल एमाले अध्यक्ष केपी ओलीले पक्कै सोचेका थिए होलान् फेरि प्रधानमन्त्री बन्छु भनेर, किनकि उनले आफूलाई ‘प्रजातात्रिक शक्ति’ मान्ने कांग्रेसभित्रको हबिगत राम्रैसँग नियालिरहेका थिए । उता एमालेप्रति आस्था राख्ने र नराख्ने सबैले देउवाको अकर्मण्डयता राम्रैसँग केलाउँदै थिए । जसमा मलजल थपिदिएको थियो, माओवादी अध्यक्ष पुष्पकमल दाहालको सत्तामोह र कांग्रेससँगको निकटताले । सामाजिक सञ्जालमा पनि प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीले गरेका कामले निकै चर्चा पायो छिटफुट आलोचनाबाहेक ।
जसलाई ०७४ बैशाखमा सम्पन्न स्थानीय चुनावमा माओवादीसँग सहकार्य गर्दा पनि एमालेजति बन्न नसकेको कांग्रेसको दयनीय अवस्थाले पनि पुष्टि गर्छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवाको आफ्नै छविले पनि कांग्रेस चिप्लिएकै हो ।
पहिलोपटक ओली प्रधानमन्त्री हुँदा गरेका कार्यप्रति आपत्ति जनाएर होस् या ओलीको निर्णयप्रति शंका लागेर माओवादी समर्थनमा बनेको ओली सरकार अल्पमतमा प¥यो । अन्ततः ओली सिंहदरबारबाट बाहिरिए । उतिबेला एमालेलाई समर्थन गरी ओलीलाई प्रधानमन्त्री बन्न सघाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकाएक कांग्रेसँगको गठजोडमा किन पुगे ? यसमा राजनीतिक विश्लेषक तथा माओवादीभित्रैका सदस्यले पनि केही हदसम्म कुरा नउठाएका भने होइनन् ।
०७३ असारमा प्रधानमन्त्रीबाट बहिर्गमन हुँदा ओली प्रचण्डप्रति निकै रुष्ट थिए । आफूलाई सहयोग गर्न छाडेर कांग्रेसको ‘पुच्छर’ किन बन्न गएका होलान् प्रचण्ड भनी ओलीले अभिव्यक्तिसमेत दिएका थिए ।
कांग्रेससँग नौ–नौ महिनामा प्रधानमन्त्री बाँड्ने सहमतिअनुसार प्रधानमन्त्री बनेका प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले प्रचण्डले आफूलाई किन र के कारणले देखिसक्नु भएन यसप्रति केही थाहा नभएको र ‘मित्रको फाटेको मन सिलाउन धेरै प्रयत्न’ गरेको बताएका थिए ।
त्यसो त ओली प्रधानमन्त्रीका रुपमा रहँदा माओवादी अध्यक्ष प्रचण्डले केही महिना अघिदेखि नै आफ्नै पार्टी सम्मिलित ओली सरकार ढाल्ने चेतावनी दिँदै आएका थिए । त्यसमा केही राजनीतिक विश्लेषकले भारतसँगको सम्बन्ध नै मुख्य कारक मानेका थिए । तर, माओवादी केन्द्रका सदस्यहरुले भने ओली आफ्नै तरिकाले हिँडेका र उनले दुईदलीय समर्थनलाई लत्याएका कारण ओलीप्रति वितृष्णा फैलिएकाले समर्थन त्याग्नुपरेको बताए ।
अबको सम्बन्ध
२९ महिनापछि पुनः ओली–प्रचण्ड एक ठाउँमा उभिनुमा ‘भेडा भेडासँग, बाख्रा बाख्रासँग’ भनी टिप्पणी गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यसलाई खासै चासो दिन नहुने र यो सम्बन्ध केही पलको लागि मात्र भएको बताएका थिए ।
दुई वाम दल मिलेर प्रतिनिधि तथा प्रदेशसभा चुनावमा कांग्रेसलाई नराम्री पछारेको यो गठबन्धन साँच्चै एक भएर कालान्तरमा पनि सँगै रहला त ? पार्टी एकीकरणमा हस्ताक्षरपछि यो फेरि उत्सुकताको विषय बनको छ ।
अबका दिनमा दुई दलका शीर्ष नेतृत्वको पदीय भागबन्डा र यसका भ्रातृ संगठनले के मूर्त रुप पाउलान् ? कहिले राजनीतिमा कोही कसैको अधीनमा र कता जोडिने भन्ने विषयमा टुंगो नहुने बताउँदै आएका माओवादी अध्यक्ष प्रचण्डको प्रवृत्तिले ओली सरकालाई काममा सहजता ल्याउला ? यो पनि संशयकै विषय बनेको छ ।
दुबै ‘फस्टम्यान’
ओली र प्रचण्डको ‘केमेस्ट्री’ जसरी मिल्दैआएको छ, द्धन्द्धात्मक सम्बन्ध पनि उत्तिकै छ । उनीहरु दुबैको राजनीतिक चरित्र ‘फस्टम्यान’ बन्ने नै हो । ३ दशकभन्दा बढी निरन्तर प्रमुख बनेर पार्टी चलाउँदैआएका प्रचण्ड र अध्यक्ष नभए पनि आफ्नो ‘गुट’ चलाउँदै प्रभाव जमाउँदैआएका ओली ‘एकले अर्कोलाई माइनस गर्ने’ बाटोतिर लम्किनसक्छन् ।
मोहन वैद्य, बाबुराम भट्टराई जस्ता नेतालाई समेत एक ठाउँमा राखेर निरन्तर नेतृत्व गरे प्रचण्डले । त्यस्तै ओलीले आफ्नो कट्टर विरोधी वामदेव गौतमलाई आफ्नो ‘लाईन’मा ल्याए ।
यसले के देखाउँछ भने प्रचण्ड र ओली फेरि पनि एकीकृत पार्टीभित्र आआफ्नो प्रभाव र प्रभुत्व जमाउन नै केन्द्रित हुनेछन् । जसले गर्दा व्यक्तित्वको टकराव पक्कै देखिनेछ । अन्ततः एकीकृत पार्टी प्रचण्ड र ओलीको ‘गुट’ को खिचातानीमा अल्झिनेछ ।
यसैले पनि दुई नेताकै कारण एकीकृत पार्टी प्रारम्भदेखि नै धरापको बाटोमा छ । जुनसुकै बेला चुँडिनसक्छ । जुन दिन प्रचण्ड वा ओलीले आफू कमजोर महसुश गर्छन् त्यही बेलादेखि यसभित्र खिचातानीको अर्को अध्याय सुरु हुनेछ वा एकता भंग हुनेछ ।