कर्णाली प्रदेशमा आन्दोलन सुरु, १ महिना नपुग्दै मुख्यमन्त्रीको राजीनामा मागियो
काठमाडौं । प्रदेश नम्बर ६ को नामाकरणसँगै त्यहाँ आन्दोलन सुरु भएको छ । ‘कर्णाली’ नाम राखेर ‘कर्णाली विशेष स्वायत्त क्षेत्र’को अवधारणा अस्विकार गरेको भन्दै स्थानीय अगुवा तथा राजनीतिकर्मीहरु आन्दोलत बनेका हुृन् ।
यही सन्दर्भमा कर्णाली जनअधिकार मञ्च नेपालको अगुवाइमा आइतबार काठमाडौंमा विरोधका कार्यक्रम घोषणा हुँदैछ । मञ्चका अध्यक्ष प्रकास रोकायाले मुख्यमन्त्री तथा प्रदेश संसदले कर्णालीको नाम बेचेको भन्दै यसको विरोध गरेको नेपालआजसँग बताएका छन् ।
‘कर्णालीको नाम बेचियो । यसो गरिनु कर्णालीबासीमाथि अपमान हो,’ रोकायाले भने, ‘हाम्रो आन्दोलन अब सुरु भयो ।’
राजधानीमा रहेका कर्णालीबासी तथा कर्णाली जनअधिकार मञ्चले आइतबारै पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो । साथै उनीहरुले विरोध र्याली गर्ने भएका छन् ।
आन्दोलित समूहले मुख्यमन्त्री महेन्द्र शाही र प्रदेश संसदले हतारमा एकलौटी निर्णय गरेको भन्दै मुख्यमन्त्रीको राजीनामा समेत माग गरेका छन् । साथै प्रदेश राजधानी समेत जुम्लामै राखिनुपर्ने माग गर्दैआएका छन् ।
कर्णाली विशेष स्वायत्त प्रदेशको रुपमा अन्तरिम संविधानमै उल्लेख गरिएको कुरालाई केन्द्र र प्रदेश सरकारले बिर्सेर कर्णालीबासीको नाममा फेरि शोषण गर्न नपाइने भन्दै उनीहरु आन्दोलित भएका हुन् ।