सिलवाललाई ओलीको उधारो वाचा, मतदातालाई जवाफ के दिने ?
लोकेन्द्र भट्ट
डीआईजीे पदबाट दिएको राजीनामा नै स्वीकृत नहुँदै नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवाल असोज २० गते एमालेमा प्रवेश गरेका थिए । वर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै ‘गृहमन्त्री बनाईदिन्छु’ भनेर पार्टी प्रवेश गराएका हुन् ।
ओली प्रधानमन्त्री भएको दुई हप्ता हुनै लाग्दा पनि सिलवाल गृहमन्त्री बन्ने त परैको कुरा सार्वजनिक समेत हुन सकेका छैनन् ।
कहाँ छन् सिलवाल ?
सामाजिक सञ्जालमा सक्रिय रहेका सिलवाललाई नेपाल प्रहरीले ‘डिफ्यूजन नोटीस’ जारी गरेर पनि पक्राउ गर्न सकेन । विभिन्न सञ्चार माध्यमा अन्तरवार्ता दिँदै आफू नेपालमै रहेको बताइरहेका थिए । सयौँको संख्यामा उनको खोजीका लागि प्रहरी परिचालन गरियो ।
तर पक्राउ गर्न सकेन । एमाले माओवादी केन्द्रबीच पार्टी एकताका लागि सहमति पत्रमा हस्ताक्षर गर्ने बेला भने अचानक एमाले नेता अग्नी खरेलको साथमा सिंहदरबार छिरे ।
त्यसो त, शेरबहादुर देउवा नेतृत्वको सरकारको राजीनामासँगै सिलवालले ‘देशले अधिनायकवादी पात्रबाट मुक्ती पाएको’ भन्दै देउवालाई पटाक्षेप गरेका थिए ।
सिलवाललाई ओलीको उधारो वाचा
निर्वाचनको परिणाम आएपछि पनि सिलवाल गृहमन्त्री बन्लान् की भन्ने भ्रम फैलियो । खासगरी चुनावको बेला सिलवाललाई गृहमन्त्रीको रुपमा ‘प्रोजेक्सन’ गरिएको थियो ।
एमाले–माओवादी सरकार बन्ने भएपछि सिलवाल मन्त्री बन्ने गुन्जायस छैन । यतिसम्म कि, उनी सपथ ग्रहणको बेला समेत सार्वजनिक हुन्छन् की हुँदैनन् आशंका छ ।
के पुष्टि हुन्छ भने प्रधानमन्त्री ओलीले सिलवाललाई उधारो वाचा नै दिएका थिए । सिलवालसँगै ललितपुर क्षेत्र नम्बर १ का जनतालाई पनि उनले झुक्याए । र ओली र सिलवालले ललितपुरका मतदातालाई के जवाफ दिनेछन् ?
कतिन्जेल भुमिगत ?
आउँदो २० गते प्रतिनिधि र राष्ट्रियसभाका सांसदहरुको सपथ ग्रहणको कार्यतालिका बनेको छ । उनी सहजै आउने वातावरण भने अझै बनेको छैन ।
वाम सरकारले सिलवाललाई सांसदकै रुपमा टिकिरहने वातावरण त पक्कै बनाउला तर बाटो सजिलो छैन । प्रधानमन्त्री ओली आखिर एक जना व्यक्तिको लागि आफ्नो राजनीतिक करिअर डुबाउन पनि त चाहँदैनन् !