एमाले–माओवादी प्रतिवेदन लेखन कार्य अघि बढ्यो
काठमाडौं । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा एमाले वरिष्ठ नेता माधव नेपालको अध्यक्षतामा बसेको नेकपा एमाले र माओवादी केन्द्रको प्रतिवेदन मस्यौदा कार्यदलको बैठक सकिएको छ । बैठकले आजदेखि प्रतिवेदन लेखन अघि बढाउने निर्णय गरेको छ ।
पार्टी एकतालाई अगाडि बढाउन दुई दलबीच गठन भएको पार्टी एकता संयोजन समितिको बैठकले एमाले वरिष्ठ नेता नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरेको थियो ।
आज बसेको कार्यदलको बैठकले प्रतिवेदन लेखनका लागि दुई दलका दस्तावेज, नीति, प्रतिवेदनहरुको अध्ययन गर्ने निर्णय गरेको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकले पार्टी एकताको गृहकार्यलाई अघि बढाउन दुवै कार्यदलको संयुक्त बैठक बस्ने समेत निर्णय गरेको छ ।