देउवालाई पौडेलको चेतावनीपत्रः पार्टीलाई उठ्नै नसक्नेगरी किन डुबाएको ?
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालार्इ पन्नाकाे चिठी लेख्दै गम्भीर प्रश्न तेर्स्याएका छन् ।
पौडेलले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा लिखित रुपमा देउवामाथि पार्टीलाई उठ्नै गाह्रो हुने गरी लथालिंग हालतमा पुर्याएको भन्दै आरोप लगाएका छन् ।
पत्रको सुरुमा नै १३ औं महाधिवेशन लगतै आफूले भेटेर समूहको संरक्षक होइन, सिंगो कांग्रेसको बन्न आग्रह गरेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भनेका छन्, तर, तपाई तयार हुनु भएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं ।’
पार्टीको सबै निकाय, भातृ संगठन अस्तव्यस्त रहेको भन्दै उनले पार्टी सभापतिलाई प्रश्न गरेका छन्, ‘तपाईले के गर्नुभयो ? एउटा काम तपाईले गर्नुभयो-आफ्नो गुटको भरणपोषण ।’
उनले अघि भनेका छन्, ‘हो तपाईको आफ्नो गुट मजवुद बन्यो होला तर, विचरा कांग्रेस झनझन्र दुर्बल बन्यो । उठ्नै गाह्रो हुने गरी लथालिंग हालतमा, दुःख पाएका निष्ठावान कार्यकर्ता आम रुपमा उपेक्षित र कुठित !’
पौडेलले पार्टीको तत्काल महासमिति सहित १४ औं महाधिवेशन गर्नुपर्नेमा ध्यान अाकर्षण गराएका छन् ।