राजनीति मुख्य समाचार

प्रधानमन्त्री ओलीले भने: भ्रष्टाचारीलाई टपक्क टिपेर मिल्काउँछु

प्रधानमन्त्री ओलीले भने: भ्रष्टाचारीलाई टपक्क टिपेर मिल्काउँछु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब भ्रष्टाचारीकाे जरै उखेलेर मिल्काइदिने बताएका छन् । शनिबार नेकपा एमाले झापा–काठमाडौँ सम्पर्क मञ्चकाे निमन्त्रामा गोदावरीमा वनभाेज कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।


‘भ्रष्टहरू हाम्रो अर्काको, तेरो–मेरो, नजिकको–टाढाको, यताको उताको केही पनि हुँदैन,’ उनले भने, ‘भ्रष्टाचार गरेको पाइएमा, भ्रष्टाचार गरेको उनले कोही पनि टपक्क टिपेर फुत्त मिल्काइयो भने अचम्म मान्नु पर्दैन’, उनले भने ।

 

‘भ्रष्ट भयो कि गयो त्यसमा सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘नेपालमा अब गुण्डागर्दी, मान्छे तर्साएर चन्दा असुल गर्ने, मानव तस्कर र अन्य प्रकारका अपराधमा संलग्नलाई सरकारले कडाईका साथ कारबाही गर्छ ।’

 

साथै प्रधानमन्त्री ओलीले नेपालमा बलत्कारका घटना बढ्दै गएकाे र घटनामा सुरक्षा दिने प्रहरी नै प्रहरी मध्यस्तकर्ता बन्ने गरेकाले प्रहरीलार्इ पनि नछाड्ने बताएका छन् ।

‘छोरीहरू वलात्कृत हुन्छन् । प्रहरीहरू मध्यस्तकर्ता भएर मिलापत्र गर्दै हिँड्छन् । त्यो अब मान्य हुँदैन,’ उनले भने, ‘पक्रेका अपराधी छाड्दै हिँड्ने कुरा पनि सरकालाई मान्य हुँदैन । कुनै बलात्कारी, कुनै अपराधीलाई छाडिँदैन । पुराना मुद्दा पनि खिचेर ल्याएर यो सरकारले दण्डित गर्छ ।

 

कानुनको राज हामी देखाउँछौँ । अब नेपाल बन्छ । अन्यायमा केही पर्दैन ।’जिन्दगीसँग ठट्टा गर्ने समय छैन  उनले सबै ध्यान समृद्धिमा लगाउने बताए । ‘मेरो पाइला देशको समृद्धितर्फ तर्फ अघि बढ्नेछ,’ उनले थपे, ‘तपाईँहरूका हिराजडित भोटमा मैलो लाग्न दिन्न ।

 

तपाईँहरूलाई थाहा छ । म हिजोबाट ६६ वर्ष पूरा भएर ६७ वर्ष लागेँ । अब मैले केटाकेटीसँग ठट्टा गर्दा हुन्छ । तर, जिन्दगीसँग ठट्टा गर्ने समय छैन । मसँग प्रयोग गर्ने समय छैन । एउटा प्रयोग गरी हेरौँ न भन्ने समय मसँग छैन । अलिक समय पर्खिऔँ न त भन्ने समय पनि छैन । अब मैले छिटो–छिटो काम गर्नु पर्छ ।’

 

प्रधानमन्त्री ओलीले भावुक बन्दै अव अाफु सधैं भावनात्मक ढङ्गले सबै जनतासँग सँगै रहने भन्दै महाभारतको कथा पनि सुनाउन पछि परेनन् । ‘महाभारतमा कृष्णका १६ सय गोपिनी छन् भन्दा धेरैले इष्र्या गरे । धेरै लोभिए ।

 

उनीहरूले कृष्णलाई १६ सय आफैँले किन राखेको ? भने’, उनले थप कथा यसरी सुनाए, ‘अनि कृष्णले भने, ‘जुन गोपिनीसँग, वा जुन गोपिनीको खोपीमा म छैन त्यो तिमीहरूले लगे हुन्छ । कृष्णले त्यसो भनेपछि कृष्णका साथीहरू गोपिनी खोज्न गए । गोपिनी भएको ठाउँमा गएर ‘यहाँ त तपाईँ एक्लै हुनुहुन्छ होला’ भन्यो । ‘होइन यहाँ त श्रीकृष्ण हुनुहुन्छ’ भन्छन् ।

 

अर्कोमा गयो– ‘यहाँ तपाईँ एक्लै हुनुहुन्छ हो ? भन्यो–‘होइन यहाँ श्रीकृष्णजी हुनुहुन्छ’ भन्छन् । फेरि अर्कोमा गयो– ‘एक्लै हो भन्यो– ‘होइन श्रीकृष्ण हुनुहुन्छ ।’ यसको अर्थ श्रीकृष्ण खोपीमा होइन सबै गोपिनीको मनमा थियो । तपाईँहरू मेरो मनमा हुनुहुन्छ, तपाईँहरू जाँदा पनि गोपिनीहरुले कृष्ण देखेजस्तै म जहाँ पुग्दा पनि म तपाईँहरूलाई देख्छु, भेट्छु, तपाईँहरू मेरो साथमा हुनुहुन्छ । म पनि तपाईँहरूको साथमा छु । मेरो अरू उद्देश्य नै छैन । देश बनाउने मात्रै मेरो उद्देश्य हो ।’

 

जनतालार्इ म पाल्छु

उनले आफ्नाे विगत पनि गरिवीबाटै सुरू भएकाे भन्दै भोककाे पिडा कसैलार्इ महसुश गर्न नदिने बताए । ‘खान नपाएका अप्ठ्यारा मैले देखेको छु । मान्छेको भोकमरी र कठिनाइ देखेको छु । सरकारले अव विधिवत निर्णय गर्छ अब नेपालमा कोही भोकै पर्दैन । कोही भोकले मर्दैन । यो सरकारी नीति हो,’ उनले भने, ‘त्यसपछि घोषणाको सिरिजमा आउँछ । घर नभएको केही नेपाली हुँदैन । चराले गुँड बनाएर बसेको हुन्छ । तर, यत्रो जमिन छ । मान्छेले छाप्रो बनाएर पनि बस्न नपाउने अवस्था हुँदैन ।’

 

कार्यक्रममा प्रधानमन्त्री ओलीले एमाले र माओवादीबिच एकतापछि बनेको नयाँ पार्टीको नाम फरक भए पनि नीति सबै एमालेकै हुने बताए । ‘मैले २०७४ साल एमालेमय नेपाल भनेको थिएँ । भएको छ र हो । अब एमाले र माओवादी केन्द्र मिल्दै छ,’ उनले भने, ‘नाम अलिकति फरक पर्छ । नाम अलिकति फरक परे पनि काम एमाले हो । नीति एमालेकै हो । फरक पर्ने होइन । मुलुकलाई समृद्धिमा लैजाने जनताको बहुदलीय जनवादले नै हो । स्पष्ट भए हुन्छ । सबै स्पष्ट छन् । स्पष्ट नभएकालाई हामी बुझाउँछौँ । स्पष्ट नभएकाले बुझ्छन् ।’

 

प्रधानमन्त्री ओलीले थप्दै भने अब द्वापर युगको कलिलो अभिमन्युलाई चक्रव्यूहमा पारे जस्तो एमाले नहुने पनि दाबी गरे । अव‘एमालेले जसको टाउकोमा तथास्तु भनेर हात राख्यो त्यसले जित्यो । जसलाई राखेन त्यो गयो । राप्रपाको पनि कसैलाई जितेस्, गरिखाएस् भनेको आयो,’ उनले भने, ‘अरूलाई पनि त्यस्तै हो । बुझे हुन्छ हामीले बक्रदृष्टि लगाउँदा शनि, राहुले बक्रदृष्टि लगाउँदा केही हुँदैन ।’ उनले भने ।

विशेष