एमाले छोडेपछि धनकुमारीले भनिन्ः थुप्रै असन्तुष्ट साथीहरु छिट्टै पार्टी छोड्दैछन् (भिडियो)
'केपी ओलीको सामन्ति सोच र शैली'
काठमाडौं । वाम एकता भइरहँदा एमाले नेत्री धनकुमारी सुनारले एमाले परित्याग गरेकी छन् । प्रेस विज्ञप्ति निकाल्दै उनले अब एमालेमा नरहेको बताइन् ।
पार्टीको पछिल्लो गतिविधिबाट चित्त नबुझेको भन्दै उनले पार्टी परित्याग गरेको बताएकी हुन् । साथै पार्टीले नौलो जनवादी क्रान्ती र पिछडिएका वर्गको उत्थान एमालेबाट सम्भव नरहेको पनि बताएकी छन् ।
कोमल वलीजस्ता महिलालाई पार्टी प्रवेश गराएर सांसद बनाउने तर अरु थुप्रै इमानदार कार्यकर्तालाई पार्टीले बिर्सेको उनको असन्तुष्टि छ । एमालेको यस्तो चरित्रबाट सामन्तवादी र पूँजीवादी सोच छर्लंग भएको उनको भनाइ छ ।
यस्तै अष्टलक्ष्मी शाक्यलगायत इमानदार महिला नेत्रीलाई पाखा लगाएर नयाँ कार्यकर्ता भित्र्याउँदै टिकट दिएको एमाले नेताहरुले सबै महिला नेत्रीहरुको अपमान गरेको धनकुमारीको बुझाइ छ ।
अरु पनि पार्टी छोड्दै
केपी ओलीको असहिष्णु नेतृत्वशैलीकै कारण अन्य थुप्रै नेता–कार्यकर्ता असन्तुष्ट रहेकाले पार्टी छोड्न तयार रहेको उनले बताएकी छन् । समावेशी, पहिचान लगायत उत्पिडित समुदायबारे केपी ओली अनुदार रहेकाले पनि धेरै कार्यकर्ता पार्टी छोड्न लागेको उनले शंकेत गरेकी हुन् ।
अबको बाटो
दलित समुदायको प्रतिनिधित्व गर्ने धनकुमारी सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहने बताएकी छन् । माओवादीबाट असन्तुष्ट आहुती, गोपाल किराँती लगायत नेताहरुसँग पनि नियतिम छलफलमै केन्द्रित रहेको उनले बताइन् ।
तत्काल पार्टी स्थापना गर्ने तयारी नभए पनि आवस्यकता महसुश भएको अवस्थामा पार्टी स्थापना गर्ने सोच रहेको पनि उनको भनाइ छ । तत्कालका लागि गहन बहस र छलफल नै महत्वपूर्ण रहेको उनले बताएकी छन् ।
साथै वामपन्थी आन्दोलनका लागि ठूलो क्षेत्र खाली रहेकाले त्यहाँ आफूहरु उभिनुपर्ने उनले बताइन् । एमालेले उत्पिडीत समुदायप्रति एमालेको अहिलेको नेतृत्व असाध्यै अनुदार भएको र सामन्तवादी सोच बढेको भन्दै नयाँ किसिमको बहसमा आफू केन्द्रित रहने उनको भनाइ छ ।