राजनीति मुख्य समाचार

खतिवडा अर्थमन्त्री बनेपछि एमालेमा चर्को असन्तुष्टि: ‘चाकडीवाज कर्मचारीलाई मन्त्री बनाइयो’

केपी ओलीसँग माधव समुहका नेताहरु रुष्ट

खतिवडा अर्थमन्त्री बनेपछि एमालेमा चर्को असन्तुष्टि: ‘चाकडीवाज कर्मचारीलाई मन्त्री बनाइयो’

 

काठमाडौं । बिस्तारित मन्त्रिपरिषदमा नेकपा एमालेको तर्फबाट पूर्वगभर्नर युवराज खतिवडालाई अर्थमन्त्री बनाएपछि पार्टी अध्यक्ष केपी ओलीसँग मुख्य नेताहरु नै रुष्ट बनेका छन् ।

 

माधव नेपाल समुहका नेता र केही केपी ओलीसँग निकटता भएका नेताहरु ओलीले पार्टीमा आफुखुसी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार मात्रै मन्त्रिपरिषद बिस्तार हुनुभन्दा अघि नै माधव नेपाल समुहका मन्त्रीका आकांक्षीहरु भेला भइ अध्यक्ष ओलीको आलोचना गरे ।

 

उनीहरुले पार्टी ‘अध्यक्षले खल्तीको मान्छेलाई मात्रै मन्त्री बनाएको’ भन्दै गुनासो गरेका छन् । साथै उनीहरु खतिवडाप्रति पनि असन्तुष्ट देखिए । कर्मचारीको रुपमा एमालेको नियुक्तिबाट गभर्नर बनेका खतिवडा संघर्ष गरेका नेतालाई पछि पार्दै मन्त्री बन्ने भएपछि उनीहरु रुष्ट बनेका हुन् ।

 

काठमाडौंमै सोमबार दिउसो भएको सानो अनौपचारिक भेलामा मन्त्रीका आकांक्षी नेताहरुले खतिवडालाई ‘चाकडीवाज’ को संज्ञा दिँदै संघर्ष र त्यागको खिल्ली उडाइएको निष्कर्ष निकालेका थिए ।

 

‘अर्थमन्त्री बन्न लायक एमालेमा लामो समय संघर्ष गरेका नेताहरु धेरै छन्’ एक नेताले भने, ‘प्रधानमन्त्रीको आँखामा खतिवडा मात्रै पर्नुभएछ । चाकडीवाज कर्मचारीलाई मन्त्री बनाएपछि के होला !’ अर्का नेता अचम्मित हुँदै भने, ‘केपीको चाकडी गरेरै मन्त्री खाए ! हामी यति लामो समय संघर्ष गरेर के गर्नु !’

 

ती नेताका अनुसार खतिवडा यसअघि पनि माधव नेपाल अध्यक्ष हुँदा र झलनाथ खनाल अध्यक्ष हुँदासमेत पार्टीको निकट रहेको भन्दै लाभ लिँदैआएका कर्मचारी हुन् । साथै पार्टीको संगठनमा खतिवडाको त्याग र संघर्ष नभएकाले पनि उनी अर्थमन्त्रीमा उपयुक्त पात्र नरहेको ती नेताले बताए ।

 

विशेष