राजनीति मुख्य समाचार

नवनियुक्त गृहमन्त्रीकाे कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन : राजनीतिक स्थायित्वलार्इ अवसरमा बदल

नवनियुक्त गृहमन्त्रीकाे कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन : राजनीतिक स्थायित्वलार्इ अवसरमा बदल

 

काठमाडौँ । नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा र सुशासन पहिलो शर्त भएको बताएका छन् । 

मन्त्रालयमा आज पदबहालीपछि मातहतका कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिँदै उनले भने, 'निर्वाचनपछिको राजनीतिक स्थायित्वले मुलुक र जनताको हितमा काम गर्ने ऐतिहासिक अवसर आएको छ, यसलाई अवसरका रुपमा लिनुपर्छ ।'

 

जनअपेक्षानुसार काम गर्न आफ्नो क्षमताले भ्याएसम्म काम गरिने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री थापाले यसमा आइपर्ने चुनौतीको सामना गर्न सबैको सहयोगको अपेक्षा गरे । 

मन्त्रालयमा यसअघिका राम्रा कामलाई निरन्तरता दिइने र सकारात्मक कामको अनुसरण गरिने बताउँदै उनले कर्मचारी र सुरक्षाकर्मीको वृत्तिविकासमा देखिएका समस्या समाधानका लागि पनि आवश्यक पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरे । 


विसं २०१२ मा गुल्मीमा जन्मिएका मन्त्री थापाले विद्यालयस्तरको शिक्षा नेपाल तथा भारतका विभिन्न विद्यालयबाट र उच्च शिक्षा रुसको पेट्रिस लुमुम्बा विश्वविद्यालयबाट हासिल गरेका छन् । पैँतालीस वर्षदेखि राजनीतिमा सक्रिय उनले यसअघि पहिलो संविधानसभा सदस्यमा निर्वाचित हुनाका साथै रक्षा मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेका छन्। पार्टीमा महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका उनी हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय सदस्य हुन् । 

पदबहाली कार्यक्रममा गृहसचिव मोहनकृष्ण सापकोटाले मन्त्रालयले भोग्नुपरेका चुनौतीका बारेमा जानकारी दिएका थिए । मन्त्री थापालाई गृहसचिव, तीनै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका उच्च पदाधिकारी र उच्च सुरक्षा अधिकारीले स्वागत गरेका थिए । 

विशेष