राजनीति मुख्य समाचार

३ नम्बर प्रदेश सरकारमा मन्त्रीको विषयलाई लिएर अष्टलक्ष्मी र मुख्यमन्त्री पौडेलबीच विवाद सुरु

३ नम्बर प्रदेश सरकारमा मन्त्रीको विषयलाई लिएर अष्टलक्ष्मी र मुख्यमन्त्री पौडेलबीच विवाद सुरु

काठमाडौं । प्रदेश ३ ले बुधबार मात्रै मन्त्रिपरिषदकाे पूर्णता पाउने भएकाे छ । अन्य प्रदेशभन्दा पछि परेका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् ।


पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यसँग समन्वय गरेर मात्र बुधबार मन्त्रिपरिषद विस्तार गर्न लागिएको हाे । प्रदेश ३मा यसअघि मुख्यमन्त्री ७ मन्त्रालयमध्ये आन्तरिक मामिलामा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेका केशव स्थापितले पद बहाली गरिसकेका छन् ।

 

अब एमालेले तीनओटा मन्त्रालय पाउनेछ भने माओवादीले एक मन्त्रालय पाउने सम्भावना छ । यद्यपी प्रदेश सरकारमा २२ जनासम्म मन्त्री बनाउन पाइनेमा वाम गठबन्धनले ३ नम्बर प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने सहमति गरिसकेका छन् ।

 

एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले बुधबार सपथग्रहण गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । मुख्यमन्त्री पौडेल निकट स्रोतका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री बनाउन निर्देशन दिएका छन् । लामाको नाम पनि ओलीले नै दिएका हुन् ।

 

यता प्रदेश संयोजक शाक्यले भने प्रदेश सरकार र मुख्यमन्त्री प्रदेश कमिटीको समन्वयमा चल्नुपर्ने भन्दै मन्त्री र अन्य नियुक्तिका नाम प्रदेश कमिटीबाट अनुमोदन हुनुपर्ने बताएकी छन् । शाक्यले मंगलवारै प्रदेश कमिटी सचिवालय बैठक समेत बोलाएको स्रोतले जनाएको छ ।

 

शाक्य पोलिटव्यूरो सदस्यद्वय पशुपति चौलागाई र अरुण नेपाललाई मन्त्री बनाउने पक्षमा रहेको बताएको छ । तर पार्टी अध्यक्षले दिएका ढुंगेल र लामाको नाम हटाउने अवस्थामा मुख्यमन्त्री छैनन् । त्यो अवस्थामा शाक्यले भनेको एकजनामात्र मन्त्री बन्दा अरुण नेपाल पर्ने सम्भावना छ ।

एमालेको भागमा अर्थ तथा योजना,सामाजिक मामिला र कृषि,सहकारी तथा भूमिसुधार मन्त्रालय छन् । माओवादीबाट कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्कामध्येबाट मन्त्री बनाउन लागिएको स्रोतले जनाएको छ ।

विशेष