प्रधानन्यायाधीश पराजुलीकाे विरूद्धमा विवेकशील साझाले निकाल्याे विज्ञप्ति
'प्रधानन्याधीशले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजे'
काठमाडौं । कान्तिपुर दैनिकविरुद्धको अदालत अवहेलना मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको आदेशप्रति विवेकशीला साझापार्टीको ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार विवेकशील साझाका प्रवक्ता सूर्यराज आर्चायले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
प्रधानन्यायाधीश पराजुलीको बेन्चबाट कान्तिपुर र प्रेस काउन्सिलका नाममा आइतबार कारण देखाउ आदेशका साथै अन्तरिम आदेश जारी भएको थियो ।
‘आदेशहरु आफ्नो बचाउ गर्दै प्रेस स्वतन्त्रतामाथि अंकुस लगाउने नियतबाट प्रेरित भएको हामीले महशुुस गरेका छौं, र त्यस प्रति हामी विमति जनाउछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अदालत लगायत राज्यका महत्वपूर्ण निकायको सम्मान र गरिमा स्वतन्त्र प्रेसमाथि ‘सेन्सरसिप’ लगाएर जोगिन सक्दैन ।’
प्रधानन्यायाधीश स्वयं नै मुद्दाको एक पक्ष भएको अवस्थामा आफैं बेन्च तोक्ने र फैसला सुनाउने कार्यले न्यायिक मर्मलाई कत्तिको आत्मसात गर्न सक्छ भन्ने प्रश्न पनि पेचिलो रूपमा आगाडि आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
न्यायिक निष्पक्षता र प्रेस स्वतन्त्रता लोकतान्त्रिक ब्यबस्थाका अपरिहार्य शर्त भएको उल्लेख गर्दै साझाले यस सन्दर्भमा स्वतन्त्र मिडिया, नागरिक समाज र राजनीतिक क्षेत्रबाट ब्यक्त चिन्ता र चासोप्रति हाम्रो एक्यबद्धता रहेको बताएको छ ।