भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन: गृहमन्त्री बादल
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन्। नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको मंगलबार उद्घाटन गर्दै उनले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताए। “भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,” उनले भने।
गृहमन्त्री बादलले विदेशिएका युवालाई स्वदेशमा रोजगार प्रदान गर्नका लागि आर्थिक विकास र समृद्धि आवश्यक रहेको भन्दै दिगो शान्ति र आर्थिक विकासका लागि वर्तमान सरकार लाग्ने बताए। मगर समुदायबाट गृहमन्त्री बनेका बादलले मुलुक निर्माणका लागि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यबाट मगर समुदायले सोचेजस्तो अधिकार पाउन नसकेको उल्लेख गरे।
“राज्यको नेतृत्व तहमा मगर समुदायले केही अधिकार पाए पनि अरू स्थानमा अधिकार कम छ,” उनले भने। उनले मगर समुदायको अधिकार, विकास र समृद्धिका लागि सशक्त नेतृत्व चयन गर्न सुझाव दिए। नेपाल मगर संघका सल्लाहकार बमकुमारी बुढामगरले खस आर्यपछिको ठूलो समुदायका रुपमा रहेको आदिवासी जनजातिलाई राज्यले बेवास्ता गरेको बताए।
“१० वर्षे जनयुद्धको शुरुवात मगर बस्तीबाट भएको हो, त्यसैले मगर समुदायलाई वर्तमान सरकारले बेवास्ता गर्न मिल्दैन,” उनले भने। नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले झण्डै १९ लाख जनसंख्या भएको मगर समुदायको भाषालाई सरकारी कामकाजको भाषाका रुपमा सरकारले मान्यता दिनुपर्ने माग गरे। सम्मेलनमा पूर्वका मगर समुदायको हुर्रा नाच, पश्चिम मगर समुदायको कौरा, सोरठी, सालैजो नाच र मध्यपश्चिम तथा सुदूरपश्चिमका मगर समुदायको भूमिया नाच प्रस्तुत गरिएको थियो। यस्तै मगर समुदायबाट विभिन्न ओहोदामा पुगेका व्यक्तिलाई सम्मानसमेत गरिएको थियो।