कांग्रेस नेताहरुलाई शशांकको ‘लञ्च’ निम्तो
काठमाडौं । संसदीय दल नेता छान्न हुने चुनावको तयारी हुँदै गर्दा कांग्रेस महामन्त्री शशांक कोइरालाको सक्रियता बढेको छ । एउटा खेमाले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउने लबिङ सुरु गरेको छ ।
कोइरालाले पनि भोलि ‘होली’को अवसरमा भन्दै पार्टी नेताहरुलाई लञ्जको निम्तो दिएका छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेताहरुलाई विहान ११ बजे नै बोलाइएको छ ।
मध्याहृन १२ बजे केन्द्रीय सदस्य र संघीय संसदका सदस्यहरुलाई बोलाइएको छ ।
सर्वसम्मत संसदीय दलको नेता बन्ने प्रयासमा रहेका महामन्त्री कोइरालाले लञ्चका नाममा ‘म सबैलाई मिलाउन सक्छु’ भन्ने सन्देश दिन खोजेको एक नेताले बताए ।
संसदीय दलको चुनाव २१ गतेलाई तय भएको छ । २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । पार्टी सभापति शेरबहादुर देउवा दलको नेताका स्वभाविक उम्मेदवार हुन् भने प्रकाशमान सिंहले चुनाव लड्ने बताएका छन् ।
महामन्त्री कोइरालाले भने चुनाव नलड्ने तर, सर्वसम्मत भए दलको नेता बन्ने बताएका छन् ।