प्रचण्डका अंगरक्षक दुलाललाई मन्त्री बनाएपछि माओवादीभित्र विरोध
हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपेर पौडेलले ७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न लागेका हुन् ।
मन्त्रिपरिषद् विस्तारअघि मुख्यमन्त्री पौडेलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यसँग परामर्श गरेका थिए । त्यस्तै उनले माओवादीबाट मन्त्री हुनेको नाम संसदीय दलको नेता शालिकराम जमरकट्टेलसँग मागेका छन् ।
मन्त्री चयनकाे विषयमा माअाेवादीमा विवाद
प्रदेश ३ मा माओवादीबाट मन्त्री चयन गर्ने क्रममा विवाद भएको छ । सिन्धुपाल्चोकका युवराज दुलालको नाम अघि सारिएपछि अरु नेताह असन्तुष्ट भएका हुन् । लामो समय प्रचण्डको अंगरक्षकका रुपमा काम गरेका दुलाल अग्नि सापकोटा वनमन्त्री हुँदा स्वकीय सचिव थिए ।
कुमारी मोक्तानकाे अापत्ति
माओवादीबाट कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्काको नाम मन्त्रीको लागि चर्चामा थियो । समावेशी हिसाबले पनि कुमारी मोक्तानलाई मन्त्री बनाउन माओवादीमा दबाव छ । यसअघि शालिकराम जमरकट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका छन् ।
दुलाललाई मन्त्री बनाउन प्रचण्डले निर्देशन दिएका स्रोतले जनाएको छ । पछिल्लो समय दुलाल राजनीतिभन्दा पनि व्यापार र ठेक्कापट्टामा संलग्न रहेको आरोप लागेको छ । अग्नि सापकोटा केन्द्रीय सरकारको मन्त्री नहुने भएपछि सिन्धुपाल्चोकका नेताहरुले दुलाललाई मन्त्री बनाउन प्रचण्ड निवासमा दबाव दिएका एक नेताले बताए ।
माओवादी संसदीय दलको उपनेतासमेत रहेकी मोक्तानलाई मन्त्रीको शपथका लागि तयार हुन बिहानै मुख्यमन्त्री पौडेलले सूचना दिएका थिए । तर, पार्टीबाट दुलालको नाम आएपछि उनले आपत्ति जनाएकी छन् । माओवादीले महिला र जनजातिलाई अपमान गरेको आरोप मोक्तान पक्षले लगाएको छ ।
पार्टीभित्र कुमारी मोक्तान र राजकाजी महर्जन बादल समूहका हुन् । विशाल खड्का बाबुराम भट्टराई पार्टीमा हुन्जेल उनको पक्षमा थिए ।
माओवादीले पाउने दुईमन्त्रीमध्ये एउटामा महिला र जनजातिलाई दिनुपर्ने माग भइरहेको छ । एमालेले भने प्रदेश ३ को जातीय क्लस्टर मिल्ने गरी एकजना नेवार, एकजना तामाङ र दुईजना खसआर्यलाई मन्त्री बनाएको छ ।