रेशम चौधरीलाई पनि सपथ गराउन माग
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न माग गरेको छ । पार्टीका नेता वृशेषचन्द्र लालले सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको कामकार्बाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेका हुन् ।
आगामी आईतबार संघीय संसदमा निर्वाचित सदस्यहरुले सपथ लिँदै छन् । सोही विषयमा समेत छलफल गर्न संघीय संसद सचिवालयले बुधबार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले सांसद चौधरीलाई सपथ लिने र संसदको काम कार्बाहीमा भाग लिन पाउने व्यवस्था गर्न माग गरेको हो । जनताबाट निर्वाचित सांसद चौंधरीलाई सपथ लिने र संसदको कामकार्वाहीमा भाग लिने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरिएको नेता लालले जानकारी दिए ।
कैलालीको टिकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका प्रतिनिधिसभाका सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला कारगार चलान गरिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालले आफ्ना सांसद चौधरीलाई सुरक्षाको उचित प्रबन्ध गरी सपथ गराउने व्यवस्था गर्न संघीय संसदसँग माग गरेको हो । सांसद चौधरीले पनि आफूलाई सपथ ग्रहण गराउने व्यवस्था गर्न माग गर्दै पार्टीमार्फत् संघीय संसद सचिवालयमा निवेदन दिइसकेका छन् ।