फागुन २२ देखि एयर एसियाले उडान बन्द गर्ने
काठमाडौं । नेपाल नागरिक उड्डयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मार्च ६ अर्थात् फागुन २२ गतेदेखि मलेसियन निजी एयरलाइन्स एयर एसियाको उडान बन्द गराउने भएको छ।
मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बाँकी बक्यौता दाखिल नगरेपछि उडान बन्द गर्न लागिएको विमास्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरको भनाइ छ। एयर एसियाले पुस २४ गते गरेको फेब्रुअरी २८ भित्रमा बाँकी रहेको सबै बक्यौता रकम चुक्ता गर्ने लिखित प्रतिबद्धता गरेको थियो।
प्रतिबद्धता अनुसार बाँकी बक्यौता दाखिला नगरेपछि उडान बन्द गर्न लागिएको ठाकुरले जानकारी दिए। प्राधिकरणले कार्यालयलाई तीन मार्चदेखि उडान बन्द गराउन सहमति दिएको थियो। तर, विमानस्थल कार्यालयले एयर एसियालाई थप तीन दिनको समय थप्दै मार्च ६ बाट उडान बन्द गराउन लागेको प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले बताए।