प्रधानन्यायाधीश पराजुलीले राजीनामा नगरे फेरी अनशन बस्छु डा. केसीको चेतावनी
काठमाडौं । डा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा नदिए वा उनी विरुद्ध महाअभियोग नलगाइने सत्याग्रहसहितका कडा कदम चाल्ने बताएका छन्। डा केसीले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश पराजुलीले आफ्नो एसएलसीको प्रमाणपत्र सम्बन्धी सूचना लुकाएर प्रमाणपत्र फर्जी रहेको आशंका पुष्टि भएको भन्दै राजीनामाको माग गरेका हुन्।
‘हामीले दिएको निवेदन उपर के-कस्तो कारबाही भयो भनी आज सचिवालयमा बुझ्न जाँदा हाम्रो माग बमोजिमको सूचना नदिने र दुषित कार्यहरु भएको सम्बन्धमा माग बमोजिमको आवश्यक उपचार उपलब्ध गराउने सम्बन्धमा मौन देखिएको अमूर्त व्यहोरासहित नियम ४० (२) विपरितको पत्र थमाउन खोजियो ।,’
प्रधानन्यायाधीशको एसएलसीको प्रमाणपत्रको सूचना माग गरिए पनि उपलब्ध नगराइएको भन्दै डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानन्यायाधीश गोपाल पराजुलीले हाम्रो माग बमोजिमको सूचना लुकाउनुले हामीले माग गरेको उनको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र फर्जी भएको हाम्रो आशंका पुष्टि हुने आधार थपिएको छ। यस सम्बन्धमा हामीले उपयुक्त समयमा थप कदम चाल्ने नै छौं।’
डा केसीले मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुली स्वयंमलाई सम्बोधन गरी प्रधानन्यायाधीशको निजी सचिवालयमा हालसम्म नदेखाएको प्रवेशिका तहको शैक्षिक-चारित्रिक-स्थानान्तरण प्रमाणपत्रको सूचना लगायत अन्य सूचनाहरु माग गर्दै निवेदन दिएका थिए।