प्रधानमन्त्री ओली आफ्नै गीतमा यसरी रमाए
म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर...
यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो।
ती गीतका पंक्तिहरु संगीतका धुनमा गुञ्जिएसँगै खुला चौरमा रातो, नीलो र पहेलो टिसर्ट र नीलो ट्रयाकसुटमा युवा-युवतीले आफ्नो कला प्रदर्शन शुरु गरे। ती जीवन्त गीतका स्रष्टा एवं प्रधानमन्त्री केपी शर्मा ओली मन्दमुस्कानले युवा युवतीका नाचको कलालाई साथ दिइरहे।
राष्ट्रिय सेवा दलको १३ औँ वरिष्ठ समूहको अन्तिम दीक्षान्त कवाज कार्यक्रमका सहभागीले आज ललितपुरमा सो गीत गुञ्जिरहँदा नाचकलाको जोसिलो प्रदर्शन गरेका थिए। उसो त, ओलीले पहिलो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुँदा सो गीतको रचना गरी राष्ट्रिय सेवा दललाई दिएका थिए।
विसं २०२२ मा स्थापना भएको सो दलले १३ औं दीक्षान्तमा प्रधानमन्त्री एवं गीतकार ओलीका गीतलाई संगीतमा रुपान्तरण गर्दा तालीमका सहभागीले आकर्षक कला प्रदर्शन गरेका थिए। प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै देशको आर्थिक समृद्धि र विकासमा सबै क्षेत्रबाट उठ्न आह्वान गरेका थिए।
ओलीले भने, ‘मेरो नेतृत्वको वर्तमान सरकारको प्रमुख लक्ष्य आर्थिक समृद्धि गरी देश विकास गर्नु हो, सरकारले सदाचारको विधि अपनाउँछ।’ ओलीले सबै युवालाई शिक्षित बनाई देश विकासको मूल प्रवाहमा समाहित गराउन सरकारले काम गर्ने बताएका थिए। र, युवाको योगदानबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने सुनाएका थिए।
राष्ट्रिय एकता र भावनाले ओतप्रेत भई उच्च मनोबलका साथ आफ्ना उद्देश्य र सपना पूरा गर्न तालीमका सहभागीलाई आह्वान गरेका प्रधानमन्त्री ओलीले युवालाई हारेर होइन, जितेर काम गर्न आग्रह समेत गरे।
‘विश्वको सर्वोच्च शिखर सगरमाथा, गौतमबुद्धको जन्मस्थल, लालीगुँरास फुल्ने स्वाभिमानी मेरो देशलाई अझ उँचो बनाउन सबै लाग्नुपर्छ’ ओलीले भने, ‘उकाली ओराली अप्ठ्यारोसित नतर्सिदै प्रतिकूलतालाई अनुकूलतामा परिवर्तन गरेर अगाडि बढ्नु पर्छ।’
सो अवसरमा प्रधानमन्त्री ओलीले तालीमका सर्वोत्कृष्ट हुने सहभागीलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेका थिए।
कार्यक्रममा रक्षामन्त्री तथा राष्ट्रिय सेवा दलका सहसंयोजक ईश्वर पोखरेलले युवा देशका भविष्य भएकाले उनीहरुको ज्ञान र सीपलाई विकासमा समाहित गराउन सरकारले जोड दिने बताएका थिए।
युवा सशक्तीकरण सरकारको प्राथमिकतामा पर्ने चर्चा गर्दै पोखरेलले अगामी दिनमा सेवादलका कार्यक्रमलाई विस्तार गर्न सहयोग गर्ने जानकारी दिएका थिए।
राष्ट्रिय सेवा दलका महानिर्देशक उपरथी रमीन्द्र क्षेत्रीले ‘स्मार्ट युथ’ का लक्ष्यका साथ सेवादलले अगामी दिनमा ७७ जिल्लाका सात हजार ७ सय युवालाई तालीम दिने जानकारी दिँदै तालीमबाट सिकेका ज्ञानले युवाका सशक्तीकरण गर्न सहयोग मिलेको बताए।
१३ औं दीक्षान्तमा ७६ जिल्लाका युवाका सहभागिता थियो। यस वर्ष सेवा दलले छ हजार युवालाई तालीम दिने लक्ष्य लिएको छ। तालीमलाई प्रभावकारी बनाउन उसले सेवा दल ऐन २०२७ लाई संशोधन एवं नियमावली समेत तयार गर्ने जनाएको छ। सेवा दलमा आवश्यक जनशक्ति अभावसमेत रहेको बताइएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले ‘राष्ट्रिय सेवा दल विगत र वर्तमान’ नामक पुस्तकको सार्वजानिक पनि गरेका थिए ।