राजनीति

प्रदेश संसदीय दलको नेता बन्न हानथाप

सभामुख, उपसभामुख लगायतको निर्वाचन प्रक्रिया सुरु

प्रदेश संसदीय दलको नेता बन्न हानथाप

काठमाडौं । सातओटै प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएसँगै सभामुख, उपसभामुख लगायतको निर्वाचन प्रक्रिया सुरु भएको छ । सात ओटै प्रदेशसभाले सभामुख चयनको मिति तय गरिसकेका छन् । तर, सबै राजनीतिक दलले मुख्यमन्त्री र सभामुखका उम्मेदवार छान्न सकिरहेका छैनन् । संविधानको धारा १ सय ६८ को उपधारा ३ अनुसार प्रदेशसभा चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गर्नुपर्दछ ।

निर्वाचन आयोगले माघ ३ गते प्रदेशसभा चुनावको अन्तिम परिणाम घोषणा गरेकाले त्यहि व्यवस्था अनुसार फागुन ३ गतेभित्र सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त गरिसक्नु पर्नेछ । तर, अहिलेसम्म सातओटा प्रदेश मध्ये दुईओटा प्रदेशको मात्र संसदीय दलको नेता छानिएका छन् ।

प्रदेश नम्बर–५ मा नेकपा एमालेले शंकर पोखरेललाई प्रदेश संसदीय दलको नेता चुनेको छ भने प्रदेश नम्बर–२ मा संघीय समाजवादी फोरम नेपालले लालबाबु राउतलाई प्रदेश संसदीय दलको नेता चयन गरेको छ ।

बाँकी दलहरुले भने संसदीय दलको नेता छान्नै मुस्किल परेको छ । एमाले नेता सुरेन्द्र पाण्डेले संसदिय दलको नेता छान्ने जिम्मा प्रदेश स्तरलाई दिएको जानकारी दिए । माघको अन्तिमसम्म मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख लगायतका उम्मेदवार तय गरिसक्ने उनको दाबी छ । प्रदेश नम्बर–६ र ७ मा मुख्यमन्त्री पाएको माओवादी केन्द्रले पनि संसदीय दलको नेता छनोट गरेको छैन ।

माओवादीको ७ नम्बर प्रदेश कमिटीले डोटीका सांसद त्रिलोचन भट्टलाई प्रदेश–७ को मुख्यमन्त्रीका लागि सिफारिस गरेपछि माओवादीभित्र विवाद चर्किएको छ । नेपाली कांग्रेसले सातओटै प्रदेशमा केन्द्रीय प्रतिनिधि पठाइसकेको छ ।

प्रदेश नम्बर–२ को संसदीय दलको नेता बन्न राजपा नेपालमा पनि विवाद छ । प्रदेश मुख्यमन्त्री बन्न नसक्ने भएपनि प्रदेशमा विपक्षी दलको नेता बन्ने अवसर पाइने भएकाले कांग्रेसभित्र पनि प्रदेश संसदीय दलको नेता बन्न हान थाप चलेको छ ।

विशेष