राजनीति

राष्ट्रियसभा निर्वाचनको मतदान शुरु, प्रदेश २ मा निर्विरोध, सांसद्लाई आजै प्रमाणपत्र

राष्ट्रियसभा निर्वाचनको मतदान शुरु, प्रदेश २ मा निर्विरोध, सांसद्लाई आजै प्रमाणपत्र

काठमाडौं ।  राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ६ वटा प्रदेशमा मतदान सुरु भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय भएको छ ।६ वटै प्रदेशमा मतदान सुरु भइसकेको छ । सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको भए पनि प्रदेश नम्बर २ मा सबै सदस्य निर्विरोध निर्वाचित भएकाले मतदान गर्नुनपर्ने निर्वाचन आयोगले जनाएको छ ।

 

पोखरामा मतदान शुरु

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान शुरु भएको छ । बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

 

लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा शुरु भएको निर्वाचनमा स्थानीय तहका प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको छ ।

 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहमा प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी २३० जना रहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

 

मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगत्तै मतगणना शुरु गर्नेगरी तयारी गरिएको उनले जानकारी दिए । यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कूल आठ (खुल्ला-तीन, महिला-तीन, दलित र अपाङ्गबाट एक-एक जना) रहेकामा अपाङ्ग तर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

प्रदेशसभाका सदस्यभन्दा स्थानीय तहको संख्या बढी भएका कारण उहाँहरूको बेग्लाबेग्लै लाइन रहेको छ । बिहान ९ बजेदेखि नै निकै उत्साहका साथ मतदाता लामबद्ध छन् ।

 

ललितपुरको जावलाखेलमा मतदान सुरु

त्यस्तै यता प्रदेश तीनमा पनि राष्ट्रिय सभा निर्वाचन ललितपुरको जावलाखेलमा सुरु भएको छ । मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।


प्रदेश ३ मा ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी कुल २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् ।

 

जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर वडा कार्यालयमा मतदान केन्द्र तोकिएको छ। जावलाखेल मैदानमा मतदानको व्यवस्था मिलाइएको छ ।

 

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

 

कसले दिन्छन् मत ?

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी कुल २,०५६ मतदाता रहेका छन् ।

 

त्यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १,५०६ जना मतदाता प्रत्येकको मतभार १८ र प्रदेश सभाका ५५० मतदाता प्रत्येकको मतभार ४८ हुने प्रावधान रहेको छ ।

 

प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित भएकाले अब बाँकी ६ प्रदेशका स्थानीय तहका १,२३४ र प्रदेश सभाका ४४३ गरी कुल १,६७७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । विगतका निर्वाचनमा जस्तो यस निर्वाचनमा स्वतिक चिह्नको प्रयोग हुने छैन । मतदानका लागि प्रदेश सभाका सदस्यले हरियो रंगको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रङ्गको मतपत्रमा मत सङ्केत गर्नेछन् ।

 

तीन महिला र अन्य ३ सदस्यका लागि एकल सङ्क्रमणीय मतका आधारमा मत सङ्केत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उमेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्नेछ भने महिला १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यको मतपत्र पनि अलग–अलग हुने भएकाले हरेक मतपत्रमा बढीमा एक जना उमेदवारलाई तोकिएको स्थानमा ठीक (राइट) चिह्न संकेत गर्नुपर्नेछ ।

 

साथै स्थानीय तहका मतदाताले एउटा मतपत्रमा सही तरिकाले मत संकेत नगर्दा १८ मतभार र प्रदेश सभा सदस्यले एउटा मतपत्रमा सही तरिकाले मत संकेत नगर्दा ४८ मतभार फरक पर्ने हुनाले एउटै पनि मत बदर नहुने गरी मत संकेत गर्न र गर्ने व्यवस्था मिलाउनका लागि निर्वाचन आयोगले आग्रह गरेको छ ।

 

निर्वाचनमा निर्वाचक मण्डल (इलोक्टोरल कलेज) को अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफु निर्वाचित भएको प्रमाण पत्र हराएमा वा बिग्रिए नासिएको भएमा मतदाताको मताधिकारलाई सुरक्षित गर्न स्थानीय तह निर्वाचन वा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ का लागि आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले यसअघि नै निर्देशन दिइसकेको छ ।

 

मतदान सकिए लगत्तै मतगणना कार्य सुरु गर्न र मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

 

प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सांसद्लाई आज प्रमाणपत्र वितरण

प्रदेश २ बाट राष्ट्रियसभामा निर्विराेध निर्वाचित सांसद्लाई आज निर्वाचन आयोगले विजयी प्रमाणपत्र वितरण गर्ने भएको छ ।

 

राष्ट्रियसभा सदस्य निर्वाचन आज हुन गइरहे पनि प्रदेश २ का ८ सहित २४ जना निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध भएसँगै अायाेगले केही दिनअघि उनीहरूलाई निर्वाचित घोषणा गरेको थियो ।


प्रदेश २ बाट निर्विरोध भएका ८ जना राष्ट्रियसभा सांसद्लाई प्रदेश निर्वाचन कार्यालयले आज विजयीको प्रमाणपत्र वितरण गर्न लागेको हो । प्रमाणपत्र वितरण कार्यक्रम दिउँसो ३ बजेका लागि तय भएको छ ।

 

विशेष