राजनीति

मतदान सकियाे, १ र ७ प्रदेशमा वामका दुर्इ-दुर्इ उम्मेदवार बिजयी

आज राति १० बजेसम्म सबै नतिजा आउने

मतदान सकियाे, १ र ७ प्रदेशमा वामका दुर्इ-दुर्इ उम्मेदवार बिजयी


काठमाडौं । ६ ओटै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको छ । तीन सय ६७ जना मतदात रहेकोमा प्रदेश नम्बर १ मा ३ सय ६४ जनाले मतदान गरेका छन् । २ सय७२ जना स्थानीय तहका प्रमुखरउपप्रमुख र ९२ जना प्रदेश सांसदले मतदान गरेका हुन् । एक जना प्रदेश सांसद र दुई जना स्थानीय तहका प्रतिनिधिले भने मतदान गरेका छैनन् ।

 

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका स्थानीय तहका प्रमुख र उपप्रमुख तर्फ ताप्जेजुङ मिक्वाखोला गाँउपालिकाका उपप्रमुख रुद्रकुमारी साँवा र तेह्रथुमको लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन मावुहाङ मतदान प्रक्रियामा सहभागी नभएका हुन् । यस्तै, प्रदेश नम्बर ३ मा पनि मतदान भएको छ । ३ सय ४८ जना मतदाताले मतदान गरेका हुन् । प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मत परिणाम आज नै राति १० बजेसम्म आउने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

 


राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेश नम्बर ४ मा भएको निर्वाचनमा १ भोट खसेन । प्रदेशसभा सदस्य दिपक मनाङ्गे अर्थात राजिव गुरुङ बाहेक अरु सबैले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । ५ वर्ष जेल सजाय गर्ने पुरानावेदनको फैसलालाई सर्वोच्चले सदर गरेपछि फरार गुरुङले सपथ नै लिएका छैनन् ।

 


प्रदेश ५ मा ३ सय ५ जना मतदातामध्ये ३०३ जनाले मतदान गरेका छन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेनन् । उनीहरु संघीय समाजवादी फोरम नेपालका प्रतिनिधि हुन् ।

 


यस्तै प्रदेश ६ मा सतप्रतिशत मतदान भएको छ । अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगर स्थित जिल्ला निर्वाचन कार्यालयमा भएको मतदानमा १५८ जना मतदाताले मतदान गरेका हुन् । खुला र महिला ३, ३ र दलित, अल्पसंख्यक तथा अपाङगताका लागि एक,एक जना सांसदका लागि प्रदेश ६ मा एमाले, माओवादी र कांग्रेसबाट गरी १२ जना उम्मेदवार छन् । जसमा एमालेबाट ५ जना, माओवादी ३ जना र कांग्रेसबाट ४ जना उम्मेदवार छन् ।

 


आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश ७ मा दुई सय २७ जनाले मतदान गरेका छन् । २ सय २९ जना मतदातामध्ये राष्ट्रिय जनता पार्टी नेपालका दुई प्रदेशसभा सांसद मतदानमा सहभागि भएनन् । डोटी दिपायलको स्थानीय पद्म पव्लिक मुक्तिनारायण माविमा भएको मतदानमा २२७ जना मतदाताले दिउँसो १ बजेसम्म नै मतदान सकिएको थियो ।

 


प्रदेश नं. २ बाहेकका अन्य ६ प्रदेशहरुमा चुनाव भएको हो । प्रदेश २ मा यसअघि नै ८ जना सदस्य सर्वसम्मत चयन भइसकेका छन् ।

 

प्रदेश १ मा दुबै सिटमा वाम गठबन्धन विजयी

 

विराटनगर । प्रदेश १ मा राष्ट्रिय सभा सांसदका दुर्इ सिटका लागि भएको चुनावमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

 

सार्वजनिक मतपरिणाम अनुसार दुईवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् ।

 

दलिततर्फ एमालेका खेम नेपाली ६ हजार २ सय ७० मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धी कांग्रेसका बिन विश्वकर्माले दुई हजार ८३२ मत प्राप्त गरे । उक्त पदमा स्थानीय तहका जनप्रतिनिधिको ९ र प्रदेशसभाको एक जनाको मत बदर भएको छ ।

 

यस्तै अपांगता/अल्पसंख्यक पदमा पनि वाम गठबन्धनकै अगमप्रसाद बान्तवा राई बिजयी भएका छन ।

 

राईले ६ हजार १३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले २ हजार ८९८ मत प्राप्त गरे । यो पदमा स्थानीय तहका १० र प्रदेशसभाका २ जनाको मत बदर भएको छ ।

 

राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

 

 

 प्रदेश ७ बाट वाम गठबन्धनका दुबै उम्मेदवार विजयी 

 

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ७ बाट वाम गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बुधबार निर्वाचन भएको दलित सदस्य र अपांग वा अल्पसंख्यक सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

 

दलित सदस्यमा एमालेका चक्रप्रसाद स्नेही र अपांग वा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका महेशकुमार महरा विजयी भएका निर्वाचन कार्यालयले जानकारी दिएको छ । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी नै छ । प्रदेश ७ बाट निर्वाचित हुने ८ सदस्यमध्ये ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

 

विशेष