कलंकीपछि अब नयाँबानेश्वर र महाराजगञ्जमा पनि अन्डरपास
चार वर्षभित्रै निर्माण सम्पन्न गर्ने सरकारी तयारी
काठमाडौं । काठमाडौंकाे अत्यधिक सवारी चापलार्इ मध्यनजर गर्दै सरकारले फेरी थप दुई ठाउँमा अन्डरपास निर्माण सम्भाव्यता अध्ययन थालेको छ ।
निर्माणाधिन कलंकीमा अन्डरपास अन्तिम चरणमा पुग्दै गर्दा सरकारले महाराजगञ्ज र नयाँबानेश्वरमा पनि सुरुङमार्ग सम्भाव्यता अध्ययन थालेकाे हो । सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटको प्रक्रिया पनि शुरु भर्इसकेकाे सडक विभागले जनाएकाे छ ।
यसअघि सरकारले दुवै स्थानमा फ्लाइओभर निर्माण गरेर सवारी व्यवस्थापन मिलाउने सरकारी योजना बनाएकाे थियो । काठमाडौं–भक्तपुर ६ लेन सडकको एक मुख्य खण्ड नयाँबानेश्वर चोक हाे भने चक्रपथमा सबैभन्दा बढि सवारी भार हुने महाराजगञ्ज सडकलाई पनि आठ लेनको बनाउने सरकारी योजना छ ।
सडक विस्तारसँगै फ्लाइओभर निर्माण असम्भव भएकाले अन्डरपासको योजना अगाडि सारिएको सडक विभागको भनाइ छ ।
विभागका उपमहानिर्देशक अर्जुनजंग थापाका अनुसार चार वर्षभित्र अन्डरपास नै तयार पारिसक्ने सोचअनुसार अध्ययन गर्न लागिएको हो । र, सम्भाव्यता अध्ययन १० महिनामा सक्ने योजना छ ।