राजनीति मुख्य समाचार

वाम गठबन्धनबाट ३ मुख्यमन्त्रीको नाम तय, बाँकी तीन प्रदेशमा चुनाव नै गर्नुपर्ने अवस्था

वाम गठबन्धनबाट ३ मुख्यमन्त्रीको नाम तय, बाँकी तीन प्रदेशमा चुनाव नै गर्नुपर्ने अवस्था

काठमाडौँ । वाम गठबन्धनले तीन वटा प्रदेशका लागि मुख्यमन्त्रीकाे नाम सर्वसम्मत पास गरेकाे छ । ६ वटा प्रदेश मध्ये बाँकी तीन वटामा भने सहमति नहुन सकेपछि चुनाव नै गर्नुपर्ने स्थिति देखिएको छ।

 

माओवादी केन्द्रको भागमा परेका प्रदेश ६ र ७ मा प्रादेशिक कमिटीले मुख्यमन्त्रीको नाम सर्वसम्मत सिफारिस गरेको छ। प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्टको नाम सिफारिस भएको हो। प्रादेशिक कमिटीबाट सिफारिस नामलाई केन्द्रले अनुमोदन गर्नेछ। प्रदेश ६ मा नरेश भण्डारी र प्रदेश ७ मा वीरमान चौधरीले पनि आकांक्षा राखेका थिए। तर केन्द्रीय नेताहरूले सहमति गराएपछि भण्डारी र चौधरी पछि हटेका हुन्।

 

एमालेको भागमा परेका प्रदेश १, ३, ४ र ५ मध्ये एउटामा मात्र सर्वसम्मति भएको छ। प्रदेश ५ मा स्थायी समिति सदस्य शंकर पोखरेललाई एमालेले प्रदेशसभाको पहिलो बैठक बसेकै दिन संसदीय दलको नेता चयन गरिसकेको छ। चुनावअघि नै मुख्यमन्त्रीका रूपमा वाम गठबन्धनले पोखरेलको नाम अघि सारेको थियो, त्यहाँ अन्य आकांक्षी नै थिएनन्।

 

प्रदेश १, ३ र ४ मा भने दलको नेता छान्न चुनाव नै गर्नुपर्ने अवस्था आएको छ। त्यसैले सम्बन्धित प्रदेशको संसदीय दलको बैठक आउँदो २६ गते बस्ने भएको छ। त्यो बैठकबाट मुख्यमन्त्रीसमेत हुने गरी संसदीय दलको नेता चयन गर्ने तयारी एमालेको छ। एमाले उपमहासचिव विष्णु पौडेलका अनुसार सर्वसम्मतिको प्रयास सफल नभए चुनाव नै गरिनेछ। केन्द्रबाट नेताहरूले सकेसम्म सर्वसम्मत चयन गर्नका लागि सुझाव दिएको उनले बताए।

 

प्रदेश संसदीय दलको बैठक बस्नुअघि केन्द्रमा नेताहरूले एकपटक अन्तिम प्रयास गर्नेछन्। प्रदेश १ मा एमालेका केन्द्रीय सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य शेरधन राईबीच कुरा मिल्न सकेको छैन। आचार्य प्रदेश संयोजक र राई प्रदेश सहसंयोजक हुन्। अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले पनि यस प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छन्। एमालेमा आकांक्षीलाई मिलाउन नसक्ने अवस्था आएकाले चुनावबाटै छिनोफानो गर्नुपर्ने स्थिति आएको हो।

 

प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे मुख्य दाबेदार छन्। एकले अर्कालाई छोड्ने स्थिति नरहेकाले त्यहाँ पनि चुनाव हुने अवस्था आएको छ। शाक्य वाम गठबन्धनभित्रकै मुख्यमन्त्रीका लागि एक्ली महिला प्रतिस्पर्धी हुन्। पार्टीमा वरिष्ठ र प्रदेश संयोजकसमेत भएकाले उनले आफ्नो दाबी छाडेकी छैनन्।

 

त्यस्तै प्रदेश ४ मा केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ आकांक्षी छन्। उनीहरू पनि एकअर्कालाई छोड्ने मनस्थितिमा नरहेकाले त्यहाँ पनि चुनाव हुने स्थिति देखिएको छ।

विशेष