राजनीति मुख्य समाचार

स्थायी समितिले झलनाथलाई राष्ट्रपति बनाउने सर्वसम्मत निर्णय गर्छः ज्ञवाली

स्थायी समितिले झलनाथलाई राष्ट्रपति बनाउने सर्वसम्मत निर्णय गर्छः ज्ञवाली

काठमाडौँ । मुख्यमन्त्री, प्रधानमन्त्रीका साथै भावी राष्ट्रपतिको विषयमा पनि चर्चा हुन थालेको छ । वाम गठबन्धनमा राष्ट्रपति एमालेलाई दिने अनौपचारिक सहमति भएसँगै राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा चर्चा सुरु भएको हो ।


एमाले र माओवादीबीच भद्र सहमति भए अनुसार प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने र उपराष्ट्रपति र सभामुख माओवादीलाई दिने भनिएको छ । सो अनुसार प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली बन्ने निश्चित जस्तै छ । तर, राष्ट्रपतिमा ओलीको चाहना अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने छ । वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललगायत एउटै व्यक्तिलाई दोहोर्‍याउनु नहुने अडानमा देखिएका छन् ।


खनालले आफूलाई पार्टीले जिम्मेवारी दिए उक्त जिम्मेवारी गहन रुपमा निभाउन तयार रहेको सार्वजनिक रुपमै बताउँदै आएका छन् । खनालले राष्ट्रपतिमा ईच्छा व्यक्त गरेका छन् । तर ओली र महासचिव ईश्वर पोखरेल भण्डारीलाई नै दोहोर्याउनुपर्ने अडानमा छन् ।


यसैबीच, एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रपतिमा खनालनै उपयुक्त पात्र भएको बताएका छन् । खनालको विषयमा विवाद गर्न नहुने उनको तर्क छ । उनले भने, ‘खनाल हाई–प्रोफाईल व्यक्ति हुनुहुन्छ, उहाँ प्रधानमन्त्री भैसक्नुभयो, अध्यक्ष भैसक्नुभयो ।’ उनले अब बस्ने स्थायी समिति बैठकमा यसबारेमा छलफल हुने भन्दै सर्वसम्मत् रुपमा खनाललाई नै अबको राष्ट्रपति बनाउने गरि निर्णय गरिने जनाए ।

विशेष