ठूला नेतालाई चित्तबुझ्दो स्थान दिएर मात्रै पार्टी एकता- नेपाल
धनगढी । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकीकरणका लागि माओवादी र एमालेका ठूला नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा गृहकार्य भइरहेको बताएका छन्।
बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले दुबै पार्टीका ठूला नेताहरुको व्यवस्थापनको गृहकार्य भइरहेको बताए।
‘एमाले माओवादी दुवै पार्टीमा ठूला नेता छन्, पार्टीमा रहेका ठूला साना सबै नेताहरुको व्यवस्थापनका लागि गृहकार्य चलिरहेको छ,’ नेता नेपालले भने।
उनले दुवै पार्टीका नेताहरुलाई चित्तबुझ्दो स्थान दिएर मात्रै पार्टी एकता गर्नुपर्ने भएकोले कसरी एकीकरण गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताउँदै पार्टी एकतापछि मात्रै सरकार गठनको काम हुने जिकिर गरे।
यस्तै टीकापुरमा बिहीबारबाट सुरु भएको सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले अब बन्ने सरकारले कृषिलाई नेपालको अर्थतन्त्रको आधार बनाउने दाबी गरे।
नेपालको अर्थतन्त्रको जग कृषि भएकोले कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण अब बन्ने सरकारले गर्ने उनले बताए।