राजनीति

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बिहान बस्दै

प्रदेश सभामुखमा दाबी नगर्ने

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बिहान बस्दै

कांग्रेसले सातवटै प्रदेशमा प्रदेश सभा सभामुखमा कुनै दलसँग तालमेल नभए उम्मेदवारी नदिने भएको छ । कुनै पनि प्रदेशमा बहुमत नभएको र सभामुखलाई कुनै दलको प्रतिनिधिका रूपमा नभई साझा बनाउने प्रचलन रहेकाले पनि जित्ने पर्याप्त आधार नहुँदासम्म उम्मेदवार नबनाउने निष्कर्षमा कांग्रेस पुगेको हो ।

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कुनै पनि प्रदेशमा सभामुखमा निर्वाचित हुनका लागि आवश्यक पर्ने बहुमत सिट नजितेकाकाले उम्मेदवारका लागि उम्मेदवार नवनाउने तयारीमा पार्टी रहेको बताए ।


‘प्रदेश सभा निर्वाचनमा कुनै पनि प्रदेशमा हाम्रो पार्टीले बहुमत सदस्य जितेको छैन, कतै पनि कुनै दलसँग तालमेल हुने सम्भावना देखिएन,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘तसर्थ, उम्मेदवारका लागि उम्मेदवार नबनाउने भन्ने हाम्रो निष्कर्ष हो । यद्यपि, पार्टीको प्रदेश संसदीय दलले जित्ने सम्भावना देख्यो र कुनै दलसँग तालमेलको सम्भावना भयो भने उम्मेदवार उठाउन सक्छ ।’


सातवटै प्रदेश सभाले सभामुख चयन गर्न मिति तय गरिसकेका छन् । प्रदेश १, ६ र ७ मा २९ माघ, प्रदेश २ मा २ फागुन, प्रदेश ३ मा २७ माघ, प्रदेश ४ मा ३ फागुन र प्रदेश ५ मा २ फागुनमा सभामुख चयनका लागि मिति तोकिएको छ ।

 

प्रदेशमा दल गठन गर्ने विधानको मस्यौदा सभापतिलाई

सातै प्रदेशमा पार्टीको संसदीय दल गठनका लागि आवश्यक पर्ने विधानको मस्यौदा तयार भएको छ । मस्यौदा तयार गर्न पार्टी केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले बिहीबार अपराह्न सभापति शेरबहादुर देउवालाई विधानको मस्यौदा बुझाएको हो । मस्यौदा केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।


विधानलाई अनुमोदन गर्न देउवाले शुक्रबार बिहान आकस्मिक केन्द्रीय समिति बैठक बोलाएका छन् । बिहान नौ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकको एजेन्डा प्रदेश संसदीय दल गठनसम्बन्धी विधानको मस्यौदामा छलफल गर्ने रहेको छ ।


मस्यौदा समितिले पार्टी केन्द्रको संसदीय दलको विधानको ढाँचामा प्रदेशको विधान तयार गरेको छ । विधान मस्यौदा समितिका सदस्य तथा पार्टी केन्द्रीय कार्यालयका कानुनसचिव केशव रिजालले केन्द्रीय समितिले अनुमोदन गरेपछि सोही विधानअनुरूप प्रदेशमा पार्टीको संसदीय दल गठन हुने बताए ।


प्रदेश दलमा दलको नेता, प्रमुख सचेतक, सचेतक, सरकारमा रहेको वेलामा संसदीय मामिलामन्त्री, पार्टीको प्रदेशको महामन्त्री पदेन सदस्य हुने व्यवस्था विधानले गरेको छ ।

 

दुई प्रदेशमा दलको नेता सर्वसम्मत

प्रदेश २ र प्रदेश ३ मा कांग्रेसले सर्वसम्मत रूपमा नेता चयन गरिसकेको छ । २ मा रामशरोज यादव र ३ मा इन्द्र बानियाँ नेता चयन भएका छन् । धनुषाबाट प्रत्यक्ष निर्वाचित यादव सोमबार र मकवानपुरबाट प्रत्यक्ष निर्वाचित बानियाँ बिहीबार नेता चयन भएका हुन् ।


यादव पूर्वकेन्द्रका सांसद हुन भने बानियाँ पूर्वगृहराज्यमन्त्री हुन् । बाँकी ५ वटा प्रदेशमा आकांक्षी धेरै भएकाले सहमति हुन सकिरहेको छैन । कांग्रेसले प्रदेशमा नेता चुन्न र दल गठनका लागि सातै प्रदेशमा केन्द्रीय समिति सदस्य पठाएको छ ।

विशेष