राजनीति

प्रदेश १ मा एमाले संसदीय दलको नेता आज छान्दै, घिमिरे, आचार्य र रार्इकाे दाबी

प्रदेश १ मा एमाले संसदीय दलको नेता आज छान्दै, घिमिरे, आचार्य र रार्इकाे दाबी

काठमाडौं । प्रदेश १ को संसदीय दलको नेता एमालेले आज छान्ने भएको छ । नेता चयनसँगै मुख्यमन्त्रीको टुंगो लाग्नेछ । त्यसका लागि आज ११ बजे विराटनगरस्थित प्रदेश सभाभवनमा दलको बैठक बोलाइएको छ ।

सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको हो । बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ । एमाले संसदीय दलको नेता बन्न सचिव भीम आचार्य र पोलिट ब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छन् ।


एमाले प्रदेश १ का संयोजक सचिव आचार्य र सहसंयोजक राईबीच सहमतिको सम्भावना भने कम रहेको छ । सहमति नभए मतदान हुनेछ ।


जीवन घिमिरे पनि प्रतिस्पर्धामा छन् । बिहान अबेरसम्म सहमति नभए ११ बजेपछि मनोनयन दर्ता हुने र अपराह्न ४ बजेसम्म संसदीय दलको नेता टुंगो लगाउने एमाले नेताहरूले बताएका छन् ।

 

दलको नेता राई कि आचार्य ?


एमाले प्रदेश १ का संयोजक सचिव आचार्य र सहसंयोजक राईबीच सहमतिको सम्भावना देखिँदैन । बिहीबार दिनभर दलको नेताका आकांक्षी आचार्य र राई आफ्नो पक्षका प्रदेश सभा सदस्यसँगको छलफलमा व्यस्त थिए ।


बिहान अबेरसम्म सहमति नभए ११ बजेपछि मनोनयन दर्ता हुने र अपराह्न ४ बजेसम्म संसदीय दलको नेता टुंगो लगाउने एमाले नेताहरूले बताएका छन् ।

 

बिहीबार दिनभर गुटको बैठकमा के भयो ?


संसदीय दलका प्रतिस्पर्धी सचिव भीम आचार्य पार्टीमा नेता माधव नेपाल पक्षका मानिन्छन् । अर्का नेता शेरधन राई संस्थापन पक्षका हुन् ।


संसदीय दलको नेता प्रक्रियाबाट छान्ने सम्भावना बढिरहँदा प्रदेश १ मा एमालेभित्रको गुट उदांगो भएको छ । बिहीबार दिनभर नेपाल पक्ष र संस्थापन (अध्यक्ष केपी ओली) पक्षका प्रदेश सांसदहरू भेला तथा छलफलमा थिए ।

 

संसदीय दलको नेताका अर्का आकांक्षी जीवन घिमिरे माधव नेपाल पक्षकै हुन् । उनलाई सहमतिमा ब्याक गराएर सचिव भीम आचार्यलाई सघाउन नेपाल पक्षले आग्रह गरिरहेको छ ।

 

नेपाल पक्षका एक नेताका अनुसार घिमिरे पछि हटिसकेका छन् । शुक्रबार मनोनयन दर्ताको समयसम्म घिमिरेले खुलेर आचार्यको पक्षमा मतदान गर्ने र आफ्नो उम्मेदवारी नदिने एमाले स्रोतको दाबी छ ।

 

उता, संस्थापन पक्षले भने सहमति शेरधनको नाममा गर्ने र नभए त्रिपक्षीय भिडन्त गराउने दाउमा छ । जीवन घिमिरेले समेत उम्मेदवारी दिए आचार्यको पक्षमा कम मत जाने भन्दै संस्थापन पक्षले घिमिरेलाई अन्तिम अवस्थासम्म प्रतिस्पर्धा गर्न सुझाइरहेको स्रोतले बतायो ।

 

घिमिरे ब्याक भए आचार्यको सम्भावना, नत्र शेरधन


केन्द्रीय सदस्य जीवन घिमिरेले चुनावी प्रक्रियामा गए सचिव भीम आचार्यलाई संसदीय दलको नेता बन्न गाह्रो हुने एमाले नेताहरूको आकलन छ ।

 

घिमिरे नेपाल पक्षकै भएकाले केही भोट घिमिरेको पक्षमा जाने र शेरधन संसदीय दलको नेता बन्ने बुझाइ कतिपय सांसदको छ । तर, घिमिरे पछि हट्ने सम्भावना बढी रहेकाले आचार्य दलको नेता बन्न सक्ने अर्कोथरीको बुझाइ छ ।


प्रदेश १ मा एमालेका ५१ सांसद छन् । नेपाल पक्षमा २५, संस्थापन पक्षमा २१ र पाँचजना तटस्थ देखिएको एमालेका एक नेताले बताए ।

 

को कहाँ बसेर सक्रिय ?
नयाँपत्रिकाका अनुसार प्रदेश १ को संसदीय दलको नेता टुंगो लगाउन माधव नेपाल पक्षका सचिव योगेश भट्टराई र अध्यक्ष केपी ओली पक्षका नेता भानुभक्त ढकाल दुवै विराटनगरमा छन् ।

 

सचिव भट्टराई विराटनगरस्थित एसिया पिक होटेलमा बसेर सांसदहरूलाई आचार्यको पक्षमा मनाउन प्रयासरत छन् । मुख्यमन्त्रीका आकांक्षी शेरधन राई भने फन एन्ड फुड रिसोर्टमा आफ्ना पक्षकासँग भेटघाटमा व्यस्त छन् ।


सचिव भीम आचार्यले भने इटहरीलाई बेस बनाएर आफ्नो गुट सांसदसँग सम्पर्कमा रहेको एमाले स्रोतले बतायो ।

 

कसरी मिलाइँदै छ सन्तुलन ?
प्रदेश १ का एमाले संयोजक भीम आचार्यसँग यसअघिको निर्वाचनमा टिकट लिने विषयमा माधव नेपाल पक्षकै केही नेता असन्तुष्ट छन् ।


जसलाई मिलाउने प्रयास सचिव योगेश भट्टराईलगायतले गरिरहेका छन् । माधव नेपाल पक्षले आचार्यलाई संसदीय दलको नेता छानेर उषाकला राई वा गणेश कामहाङमध्ये एकजनालाई सभामुख बनाउने निष्कर्ष निकालेको छ ।


अर्कोतर्फ संस्थापन पक्षले शेरधन राईलाई मुख्यमन्त्री बनाउने र जगदीश कुसियत वा अन्य कुनै खस–आर्य समुदायका सांसदलाई सभामुख बनाउने तयारी गरेको छ ।

विशेष