रेशम चौधरी काठमाडौं रिफर
काठमाडाैं । टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरेको छ ।
कारागार प्रशासनले चौधरीलाई शुक्रबार दिउँसो स्वास्थ्य अवस्था बिग्रिएपछि सेती अञ्चल अस्पतालमा भर्ना गरिए पुर्याएको थियो तर, उपचार गर्न मानेनन् । जेलभित्रै आनरण अनसनमा बसेका चौधरीको स्वास्थ्यमा गम्भिर समस्या देखिएको सेती अञ्चल अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सजन केसीले उपचारका लागि काठमाडौं रिफर गरिएको बताएका छन् । ‘पिसाबमा रगत आउने र रक्तचाप बढेपछि काठमाडौं रिफर गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘पाँच बजेको जहाजबाट केन्द्रीय कारागार काठमाडौं पठाउने तयारी छ।’
कारागारबाट बेहोस अवस्थामा सेती अञ्चल अस्पताल पुर्याइएका चौधरी विस्तारै सामान्य हुँदै गएको उक्त अस्पतालका प्रमुख डा सजन केसीले बताए। ‘आवश्यक ल्याव टेस्ट गर्ने सुविधा धनगढीमा नभएकाले रिफर गरिएको हो,’ डा. केसीले भने। स्वास्थ्यमा समस्या आएपछि शुक्रबार अस्पताल लगिए पनि चौधरीले उपचार गर्न नमानेपछि कारागार फिर्ता पठाइएको थियो।
चौधरीसंगै पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका टीकापुर घटनाका अन्य २४ अभियुक्त पनि अनसनमा छन् । निर्वाचित सांसद चौधरीलाई शपथ ग्रहण गर्न दिनुपर्ने, आफूहरुलाई रिहा गरिनु पर्ने र थरुहट प्रदेश बनाइनु पर्ने तीनबुँदे माग राख्दै उनीहरु आमरण अनसनमा बसेका हुन् ।