सरकारकाे समर्थनमा तीन चाैथाइ पुग्ने, काे–काे बसे त विपक्षमा ?
राजपालाई प्रतिपक्षको भूमिकामा मतदान गर्न आग्रह गर्दै कांग्रेस
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसबाहेकका अरु दल र स्वतन्त्र उम्मेदवारले विश्वासको मत दिने भएका छन् ।
फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार दिउँसो ३ बजे संसदबाट विश्वासको मत लिन लागेका हुन् । प्रमुख प्रतिपक्ष कांग्रेसबाहेक अन्य दल तथा स्वतन्त्र सांसदहरुले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भएका छन् ।
सत्ता गठबन्धनमा रहेका प्रमुख दल एमाले र माओवादी केन्द्रसँगै संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा) ले विश्वासको पक्षमा भोट दिने निर्णय गरिसकेका छन् । कांग्रेसले राजपालाई प्रतिपक्षको भूमिकामा मतदान गर्न आग्रह गर्दै आएको थियो ।
तर राजपा र वाम गठबन्धनबीचको पछिल्लो वार्ता सकरात्मक बन्दै गएपछि राजपाले सरकारको समर्थनमा मतदान गर्न लागेको हो । यसअघि राजपा र फोरमले राष्ट्रपतिमा वाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारीकै पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।
स्वतन्त्र हैसियतका ५ सांसद पनि संसदमा छन् । राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति, राप्रपा र नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधित्व गर्ने १–१ र अर्का १ जनाले स्वतन्त्रबाटै चुनाव जितेका छन् ।
कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । यस्तै स्वतन्त्रबाट चुनाव जितेका सांसद छक्कबहादुर लामाले सरकारको पक्षमा मतादान गर्ने जानकारी दिए ।
नयाँ शक्ति पार्टीका संचार विभाग प्रमुख विश्वदीप पाण्डेले सरकारलाई विश्वास गर्ने तर मत नदिने बताए । उनले आफ्नो फेसबुक पेजमा सरकारबारे नयाँ शक्ति पार्टीको निर्णय भनेको सरकार छ भनी विश्वास गर्ने तर विश्वासको मत नदिने, नयाँ शक्ति प्रतिपक्षी भई बस्नेछ । सरकारका कामलाई गुण र दोषका आधारमा मूल्यांकन गरी सही कामको समर्थन र गलत कामको विरोध र खबरदारी गरिनेछ भनी लेखिएकाे छ ।
नयाँ शक्तिका प्रवक्ता प्रशान्त सिंहले पनि आफ्नो पार्टी प्रतिपक्षमा रहने जानकारी दिए । कांग्रेसकै समर्थनमा नयाँ शक्तिबाट निर्वाचित सांसद डा. बाबुराम भट्टराई अहिले देशबाहिर भएकाले आइतबारको संसद बैठकमा उपस्थित हुन सकेनन् ।
यस्तै वाम गठबन्धनसँगै मिलेर चुनाव जितेको राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले औपचारिक निर्णय गरिनसके पनि सरकारकै पक्षमा मतदान गर्ने सम्भावना छ ।