प्रधानमन्त्रीकाे पक्षमा मतदान गर्न एमाले र माअाेवादीले सांसदलार्इ गरे अाग्रह
काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
संसदीय दलको आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै सांसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको हो । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ ।
संविधानानुसार प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता ओलीले संवैधानिक व्यवस्थानुसार विश्वासको मत प्रदान गर्न ह्वीप जारी गरे । उनले भने, “सबै प्रतिनिधिसभा सदस्यलाई प्रस्तावको पक्षमा मत दिन ह्विप जारी गर्दछु ।”
अध्यक्ष ओलीले दुवै दलले देशलाई सुशासन र आर्थिक समृद्धिको बाटामा अगाडि बढाउने प्रण गरेअनुसार संसद् र सरकार अगाडि बढाउनुपर्ने भएकाले सोही मर्मलाई ध्यान दिन आग्रह गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनिवार्य रुपमा प्रधानमन्त्रीका पक्षमा मत दिन आफ्नो पार्टीका प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे । उनले भने, “जनताको भरोसा र विश्वासलाई व्यवहारिक रुप दिन सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहोला ।”
उनले सरकार र संसद्को काम दुवै पार्टीले कदममा कदम मिलाएर अगाडि बढ्नुपर्ने अवस्था भएकाले ध्यान दिन प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे।