मुख्य समाचार राजनीति

मुलुकको समृद्धिका लागि सत्ता र प्रतिपक्ष हुँदैनः प्रधानमन्त्री ओली

''हामी लोकतन्त्रका लागि लडेर आएका हौँ , यसमा तलमाथि हुँदैन''

मुलुकको समृद्धिका लागि सत्ता र प्रतिपक्ष हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले भने, “राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई हामी सबैको साझा यात्रा हो ।

 

यस यात्राको अगुवाइ सत्ता पक्षले गर्ला, प्रधानमन्त्री भएकाले मैले गर्नुपर्ला । तर सबैको यात्रा यही हो ।” देशलाई अगाडि बढाउने हो भने सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, “हामी शान्ति चाहन्छाैँ, स्थिरता, स्थायित्व र शान्ति होस् अनिमात्र विकास गर्न सक्छौँ ।

 

सामान्य अवस्थामा पक्ष र प्रतिपक्ष भएर विवाद गर्न सक्छौँ । तर यतिबेला सत्ता पक्ष र प्रतिपक्ष भएर जसरी पनि विरोध गर्ने सुविधा छैन । प्रतिपक्ष पनि सहयोगी हुनुपर्छ ।”

 

लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशीता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरु, आवधिक निर्वाचन, संवैधानिक प्रतिपक्ष, प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो ।

 

संविधानबमोजिम एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार आफू विश्वासको मत लिन उपस्थित भएको उल्लेख गर्दै उनले भने, “म प्रधानमन्त्रीका लागि प्रधानमन्त्री भएको होइन ।

 

म भ्रष्टाचार गर्न प्रधानमन्त्री भएको होइन । म जनताको सेवक हुन चाहन्छु । म दमनकारी होइन, सबैलाई समान व्यवहार गर्छु ।” आफूलाई प्रतिनिधिसभाका सदस्यले विश्वासको मत दिन नपर्ने कुनै पनि कारण नभएको स्पष्ट पार्दै प्रतिपक्षले पनि विश्वासको मत दिनसक्ने उनले स्पष्ट पारे ।

 

शान्तिपूर्ण वातावरणमा मात्रै समृद्धिको आधार तयार हुने भन्दै प्रधानमन्त्रीले समृद्धिका लागि कृषि, व्यापार, ऊर्जा, वैदेशिक सहयोग जरुरी रहेको उल्लेख गरे  ।

 

एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेर देश र जनताप्रति प्रतिबद्धता जनाएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकार अन्तर्राष्ट्रिय समुदायप्रति जवाफदेही हुने र साझा चुनावी घोषणापत्रमा उल्लेख भएका विषयलाई कार्यान्वयन गरेरै छाडिने उनले दृढ विश्वास दिलाए ।

 

प्रधानमन्त्रीले भने, “म देशले सुन्ने गरी भन्न चाहन्छु हाम्रा प्रतिबद्धतामा तलमाथि हुँदैन । हामी लोकतन्त्रका लागि लडेर आएका हौँ, लोकतान्त्रिक गणतन्त्रका लागि लडेका हौँ । यसमा तलमाथि हुँदैन ।”

 

उनले जनताको जीवनलाई सकारात्मक परिवर्तन गर्ने, अधिकारलाई अधिकारमात्रै होइन, उपभोग गर्ने हैसियतमा पु¥याउने, लोकतन्त्रलाई, सामाजिक–आर्थिक अधिकारसहितको लोकतन्त्र संस्थागत गर्ने, नागरिकका आस्था, विश्वास, तिनीहरुको सम्मान गर्ने विषयमा विशेष ध्यान दिने बताए ।

 

प्रधानमन्त्रीले विविधतायुक्त हाम्रो समाजलाई अगाडि बढाउने, सामाजिक एकतासहितको आर्थिक समृद्धिको मार्ग पहिल्याउने यात्रामा अगाडि बढ्ने विश्वास व्यक्त गरे । जनताले भनेअनुसार चल्ने राजनीतिक प्रणाली स्थापित भइसकेकाले अब कोही कसैले पनि क्रान्ति भनेर समाजलाई दुःख दिन नपाइने बताए ।
–––

विशेष