विचित्र विश्व

कालोपाटीमा कम्प्युटर प्रविधि पढाउने शिक्षक

कालोपाटीमा कम्प्युटर प्रविधि पढाउने शिक्षक

घानाका एक शिक्षकले कम्प्युटर विना नै कम्प्युटर प्रविधि पढाएको विषय अनलाइनमा चर्चित बनेको छ। कुमासीका ती शिक्षकले माइक्रोसफ्ट वर्ड प्रोग्रामको चित्र निकै मिहिन रूपमा 'ब्ल्याकबोर्ड'मा बनाएका छन्।

 

सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित एउटा स्टेटस लेखेर ती शिक्षकले लेखेका छन्, "घानामा सूचना तथा कम्प्युटर प्रविधि पढाउनु निकै रमाइलो छ।"

 

उक्त तस्बिर सामाजिक सञ्जालमा आएपछि त्यसलाई हजारौंपटक शेअर गरिएको छ।

 

प्रशंसा
माइक्रोसफ्ट कम्पनीले त्यसपछि उक्त विद्यालयमा कम्प्युटर सामाग्रीहरू पठाउने बाचा गरेको छ। ओउरा क्वाजो उपनाम रहेका उनले आफ्नो फेसबुक सन्देशमा लेखेका छन्, "म मेरा विद्यार्थीलाई माया गर्छु त्यसैले म जे पढाइरहेको छु त्यो उनीहरूले बुझुन् भन्ने चाहान्छु।"

 

क्वार्ज अफ्रिका नामक समाचार संस्थाले रिचर्ड आपिया अकोटो भनेर उनलाई चिनाएको छ।

 

उच्च शिक्षा पढ्नका लागि सूचना तथा सञ्चार प्रविधि विषयको परीक्षा पास गर्नुपर्ने बाध्यता भए पनि उक्त विद्यालयमा सन् २०११ देखि कम्प्युटर नभएको क्वार्जले जनाएको छ।

 

फेब्रुअरीको मध्येतिर सामाजिक सञ्जालमा यो तस्वीर फैलिएपछि धेरैले यी शिक्षकको पेशाप्रतिको झुकावको प्रशंसा गरेका छन्।

 


प्रतिबद्धता

अकोटोले क्वार्जलाई भनेका छन्, "ब्ल्याकबोर्डमा यसरी चित्र बनाएको यो पहिलोपटक होइन। कक्षामा हुँदा जहिले पनि मैले बनाएको छु।" "मलाई फेसबुकमा तस्बिरहरू राख्न मन लाग्छ त्यसैले यो पनि राखौं जस्तो लागेको थियो। मलाई थाहा थिएन यसले मानिसहरूको ध्यान यसरी तान्छ भनेर।"

 

आइतवार उद्यमी रेबेका इनोनचोङले माइक्रोसफ्ट अफ्रिकालाई ट्वीट गर्दै ती शिक्षकले सामाग्रीको पहुँच बिना नै पढाइरहेको उल्लेख गर्दै लेखेकी थिइन्।

 

"निश्चय पनि तपाईँहरूले ती शिक्षकलाई केही स्रोतहरू जुटाइ दिनसक्नु हुन्छ।"

 

मंगलवार माइक्रोसफ्टले अकोटोलाई कम्प्युटर पठाइदिने र शैक्षिक सामग्रीहरूमा पहुँच दिने प्रतिबद्धता जनाएको बिबिसीले लेखेकाे छ।

विशेष