राजनीति समाज

यस्तो छ युवाहरुको प्रस्तावित नमुना मन्त्रिमण्डल: गगन प्रधानमन्त्री, हरिवंश राष्ट्रपति

राजनीतिक शैलीदेखि निराश युवाहरु यस्तो चाहन्छन्

यस्तो छ युवाहरुको प्रस्तावित नमुना मन्त्रिमण्डल: गगन प्रधानमन्त्री, हरिवंश राष्ट्रपति

काठमाडौं । मुलुक संघीय संरचनामा गइसकेको छ । वाम नेतृत्वको शक्तिशाली सरकार आम जनतालाई समृद्धि र विकासको प्रत्याभुत गराउने भन्दैआएको छ ।

 

नयाँ सरकारले विश्वासको मत लिइसकेको छ । संसदमा तीन चौथाइ भन्दा बढी मत पाएको सरकारले आम जनताको पक्षमा कसरी काम गर्ला मुल्यांकन हुँदै जानेछ ।

 

विडम्वना के भने, आम जनता समृद्धि र विकास हुनेमा अझै ढुक्क छैनन् । लामो युद्ध र आन्दोलनको उपलब्धिबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रमा समेत आम नेपालीका दुख उस्तै छन् । दुखका स्वरुप फेरिएका छन् तर दुख हटेका छैनन् ।

 

यसले आम नेपालीमा राजनीतिक दलहरुप्रति नै एक किसिमको घृणा यथावत छ । राजनीतिक दलका नेताहरुको महंगो जीवनशैली र प्रबृत्तिले आम मान्छेलाई झनै निराश बनाएको छ ।

 

खासगरी युवा पुस्ता पछिल्लो राजनीतिक नेतृत्वप्रति विश्वस्त बन्न सकेको देखिँदैन । नेता, तिनका आसेपासेले अकुत सम्पत्ति कमाउनेछन् तर आम जनताको जीवनस्तर उकासिने छैन भन्ने बुझाइ युवाहरुको छ ।

 

सामाजिक संजालमा सक्रिय ५ सय बढी युवाहरुमाझ नेपालआजले केही दिनअघि एक सर्वेक्षण गरेको थियो । ‘राजनीतिक दलहरुको शैली कस्तो छ ? जनताप्रति उनीहरुको ‘डेडिकेशन’ प्रति तपाईँलाई कत्तिको विश्वास छ ?’

 

यही नेतृत्वले देशको दुख निवारण गराउला भन्ने लाग्छ ? जस्ता केही प्रश्न सहित हामीले एक सर्वेक्षण गरेका थियौँ । नेपाल र विदेशमा समेत रहेका युवाहरु हाम्रो यस सर्वेक्षणमा सक्रिय सहभागी भए ।

 

यस क्रममा अधिकांश युवाहरुले नमुना मन्त्रिमण्डल नै प्रस्ताव गरेका छन् । जसमध्ये सबैभन्दा धेरै सहभागीले गगन थापालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका छन् ।

 

साथै राष्ट्रपतिको रुपमा कलाकार हरिवंश आचार्यलाई सबैभन्दा धेरै सहभागीले प्रस्ताव गरे । ८० प्रतिशतको हाराहारीमा सहभागीले प्रस्ताव गरेको मन्त्रिमण्डलको ढाँचा हामीले यहाँ प्रस्तुत गरेका हौँ ।

 

उनीहरुले प्रतिक्रियास्वरुप नयाँ पुस्ताका नेताहरुले मात्रै परिवर्तन गर्न सक्छन् भन्दै विकल्प खोजिरहेको बताएका छन् ।

 

प्रधानमन्त्रीः गगन थापा 

सर्वेक्षणमा सहभागी ५ सय मध्ये ३ सय बढी सहभागीले गगन थापालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका थिए । युवा पुस्ताको प्रतिनिधित्व गर्नसक्ने प्रखर नेताको रुपमा उनलाई प्रधानमन्त्री बनाउनु उपयुक्त भएको उनीहरुको बुझाइ छ ।

 

राष्ट्रपति:

हास्य कलाकार हरिवंश आचार्यले कलाकारितासँगै सामाजिक काममा पनि प्रसिद्धी कमाएकाले उनलाई धेरैले राष्ट्रपति पद उपयुक्त रहेको बताए ।

 

उपराष्ट्रपति:

बेचिएका बालिकाहरुको उद्धारको लागि लामो समयदेखि क्रियाशिल समाजसेवी अनुराधा कोइरालालाई अधिकांश युवाहरुले उपराष्ट्रपतिको पदमा देख्न चाहेका छन् । प्रदेशसभा प्रमुख बनेकी कोइरालालाई हाम्रो सर्वेक्षणमा सहभागीहरुले उपराष्ट्रपति पद उपयुक्त रहेको बताएका छन् ।

 

सभामुखः

भद्र स्वभावका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई भने सभामुख पदमा धेरैले हेर्न चाहे । उनीहरुका अनुसार मदनकृष्ण जस्तो व्यक्तिलाई यस पदमा राख्नु उपयुक्त हुन्छ ।

 

गृहमन्त्रीः

माओवादीका नेता जनार्दश शर्मा उर्जामन्त्री छँदा लोडसेडिङ अन्त्य गराएर लोकप्रिय बनेका थिए । शेरबहादुर देउवाको मन्त्रिमण्डलमा गृहमन्त्री समेत बनेका शर्मालाई फेरि गृह मन्त्री बनाउनुपर्ने युवाहरुको माग छ ।

 

रक्षामन्त्रीः

नयाँ मन्त्रिमण्डलमा वातावरण मन्त्री बनेका लालबाबु पण्डितका लागि उपयुक्त मन्त्रालय रक्षा मन्त्रालय हुनसक्ने धेरैको राय छ । त्यसो त, यसपटक उनलाई वातावरण मन्त्री बनाइएकोमा धेरैको गुनासो थियो ।

 

परराष्ट्रमन्त्रीः

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र लामो समय पत्रकारिता गरिसकेका छन् । विदेश मामिलाबारे पनि उनी जानकार मानिन्छन् । यस कारण पनि मिश्रलाई परराष्ट्र मन्त्रालय उपयुक्त भएको युवाहरुको तर्क छ ।

 

उर्जामन्त्रीः

सम्भावना भए पनि नेपाल जलविद्युतको क्षेत्रमा निकै पछि परेको छ । यद्यपि असम्भव जस्तै ठानिएको लोडसेडिङ काठमाडौं लगायत सहरमा अन्त्य गराएर कुलमान घिसिङ आम जनतामाझ लोकप्रिय भए । उनको विज्ञता पनि यसै क्षेत्रमा भएकाले घिसिङलाई उर्जा मन्त्रालय जिम्मा लगाउँदा नेपालको जलश्रोतको क्षेत्रमा विकास सम्भव भएको सर्वेक्षणमा सहभागीले बताएका छन् ।

 

उद्योग तथा भौतिक योजनाः

देशका विभिन्न स्थानमा नमुना बस्ती बनाएर चर्चामा छन् सिताराम कट्टेल (धुर्मुस) । सरकारले वर्षौँदेखि गर्न नसकेको काम मधेसमा धुर्मुसले गरिदिए । सिन्धुपाल्चोकको भुकम्प प्रभावित क्षेत्रमा पनि उनले गरेको कामले थुप्रै गाउँले लाभान्वित बनेका छन् । यसैले पनि उनलाई भौतिक मन्त्रालय जिम्मा लगाउँदा भौतिक पूर्वाधारको क्षेत्रमा विकास हुने धेरैको बुझाइ छ । हाम्रो सर्वेक्षणमा सहभागी ४ सय बढी सहभागीले धुर्मुसको कामको सह्राना गर्दै यही मन्त्रालय उपयुक्त हुने बताए ।

 

महिला तथा बालबालिकाः

विवेकशील साझा पार्टीकी नेत्री रन्जु दर्शनालाई पनि युवाहरुले एक असल नेताको रुपमा ब्याख्या गरेका छन् । उनलाई महिला तथा बालबालिका मन्त्री बनाएको खण्डमा बालबालिका र महिलाका समस्या अन्त्य हुनसक्ने धेरैको तर्क छ ।

 

पर्यटनमन्त्रीः

प्रदेश नम्बर ३ का भौतिक योजनामन्त्री बनिसकेका केशव स्थापितलाई केन्द्रकै मन्त्रालय जिम्मा लगाइनुपथ्र्यो भन्ने राय धेरैको छ । पर्यटनको क्षेत्रमा नयाँ योजनाको खाँचो रहेको भन्दै स्थापितलाई पर्यटन मन्त्रालयको जिम्मा लगाए पर्यटक भित्र्याउनसक्ने धेरैको विश्वास छ । त्यसो त, काठमाडौं महानगरपालिकाको मेयर भएर उनले केही उल्लेखनीय काम गरेका थिए ।

 

स्वास्थ्यमन्त्रीः

भ्रष्टाचारविरोधी अभियानमा लामो समयदेखि लागेका डा. गोविन्द केसी पेशाले चिकित्सक हुन् । उनलाई यस क्षेत्रका समस्या र समाधानका उपाय पनि जानकारी छ । यसैले असल नेता डा. केसीलाई स्वास्थ्यमन्त्री बनाउँदा धेरै परिवर्तन र सुधार हुने धेरैको विश्वास छ ।

 

संस्कृतिमन्त्रीः

हास्य कलाकार मनोज गजुरेल विश्वकै उत्कृष्ट २० कमेडियनहरुमध्ये गजुरेल पनि परे । उनी राजनीतिक संस्कार र प्रबृत्तिमाथि तिखो व्यंग्य गर्ने क्षमता राख्छन् । संस्कृतिको क्षेत्रमा सुधारको खाँचो रहेकाले उनलाई यही मन्त्रालय उपयुक्त रहेको धेरैले उल्लेख गरे ।

 

अर्थमन्त्रीः

नमुना बस्तीको अभियन्ता कुन्जना घिमिरे (सुन्तली) लाई अर्थ मन्त्रालयको जिम्मेवारी उपयुक्त हुने धेरै सहभागीको राय छ ।

 

संचारमन्त्रीः

चर्चित संचारकर्मी रवी लामिछानेलाई संचार मन्त्रालयको जिम्मा दिएको खण्डमा आमुल परिवर्तन हुने धेरैको विश्वास छ । उनको नाममा फ्यान क्लव संचालन गर्दैआएका लाखौं युवाहरुले त सामाजिक संजालमै सार्वजनिक रुपमा उनको कामको प्रशंसा गरेका छन् ।

 

विज्ञान तथा प्रविधिः

विज्ञान प्रविधिको क्षेत्रमा आमुल परिवर्तन सम्भव छ भन्दै वर्षौँदेखि क्रियाशील समाजसेवी महावीर पुनलाई विज्ञान प्रविधि मन्त्रालय उपयुक्त भएको धेरै सहभागीले बताए । त्यसो त, पुन आफैँ पनि अनुसन्धान केन्द्रको स्थापनाको लागि महाअभियान गर्दैआएका छन् ।

 

शिक्षामन्त्रीः

बौद्धिक कलाकारको रुपमा चिनिने राजेश हमाललाई शिक्षाको बारेमा धेरै जानकारी भएको हाम्रा सहभागीको बुझाइ थियो । शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यास पनि उनलाई जानकारी भएकाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न उनले सक्छन् भन्ने धेरैको विश्वास छ ।

 

स्थानीय विकासः

कारागारका बालबालिकालाई शिक्षा दिएर सिएनएन हिरो बनेकी पुष्पा बस्नेत विभिन्न अन्तर्राष्ट्रिय फोरममा पुगेर नेपालको बारेमा बोलेकी छन् । उनले शिक्षासँगै स्थानीय विकासको बारेमा पनि योजना बनाउने क्षमता राख्छिन् भन्ने धेरैको अपेक्षा छ ।

 

सामान्य प्रशासनः 

नयाँ मन्त्रिमण्डलमा आपुर्तिमन्त्री बनेका मात्रिका यादव भ्रष्टाचार र अनियमितता अन्त्यका लागि प्रयासरत छन् । अघिल्लो पटक मन्त्री बन्दा समेत उनी निकै चर्चित बनेका थिए । हकी स्वभावका यादव अनियमितता सहँदैनन् भन्ने बुझाइ धेरैमा छ । यसैले पनि कर्मचारीतन्त्रको बढ्दो लापरवाही उनैले रोक्नसक्ने धेरैको अपेक्षा छ । यस हिसावले पनि यादवलाई सामान्य प्रशासन मन्त्री बनाउनु उपयुक्त हुने धेरैजसो सहभागीको राय छ ।

 

विशेष