समाज मुख्य समाचार

बंगलादेशी मिडियाको दाबी : नेपालमा उडान भर्नअघि विमानका पाइलटले राजीनामा गरेका थिए

बंगलादेशी मिडियाको दाबी : नेपालमा उडान भर्नअघि विमानका पाइलटले राजीनामा गरेका थिए

काठमाडौँ । त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनाग्रस्त बनेको युएस बंगला विमानका पाइलट अबिद सुल्तानले नेपालमा उडान भर्नअघि राजीनामा दिएको समाचार बंगादेशको एक अनलाइनले प्रकाशित गरेको छ । 

 

प्रोथोमालो डटकमको अंग्रेजी संस्करणमा छापिएको उक्त समाचारमा सुल्तानका साथीहरुलाई उद्द्धृत गर्दै सो समाचार प्रकाशित गरेको हो ।

 

‘नेपालमा उडान भर्न अघि इमेलबाट सुल्तानले युएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएका थिए,’ साथीहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

उनको साथीका अनुसार विमान कम्पनीले भने उनको राजीनामा स्वीकृत गरेन ।

 

पाइलट अबिद सुल्तान र को पाइलट प्रिथुला रसिद दुर्घटनामा मारिएका ५१ जनामध्येका रहेका छन् ।

 

यता, युएस बंगलाका पब्लिक रिलेसन सेक्सनका प्रबन्ध निर्देशक कामरुल इस्लामले भने पाइलटले राजीनामा पत्र पठाएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘ यद्यपि, पाइलटले प्लेन उडाउँदिन भने भन्न पाउँछ,’ कामरुलले भने ।

 

सुल्तानका साथीहरुका अनुसार युएस बंगला एयरलाइन्सका एक उच्च अधिकारीले दुई महिनाअघि कम्पनी छाडेर इथोपिएयन एयरलाइनसमा काम शुरु गरेका थिए । सुल्तानसँग नजिक रहेका उनले अबिदलाई त्यही एयरलाइन्समा जागिर मिलाएका थिए ।

सुल्तानका साथी रहेका अन्य पाइलटहरु राजीनामा दिइसकेको अवस्थामा पनि विमान उडान भर्न लगाउन नैतिकताविपरित भएको बताउँछन् ।

 

दुर्घटनाको कारणको बारेमा भने उनीहरुले यसबारे विस्तृत अनुसन्धान गरिनुपर्ने बताए । सुल्तानले सन् २०१५ को मे ६ मा पाइलटको रुपमा युएस बंगला कम्पनीमा आबद्ध भएका थिए । 

 

उनी ड्यास–एट क्यु४०० विमानका मुख्य पाइलट थिए । उनी विमानको प्रशिक्षक पनि थिए । उनले सन् १९८४ देखि बंगलादेशको बायुसेनामा पनि काम गरेर रिटायर भएका थिए ।

विशेष