बाबुराम भट्टराईलार्इ पार्टीमा फर्कन प्रचण्डकाे सुझाव
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टलाई पार्टीमा फर्कन अाग्रह गरेकाे छन् ।
बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा नयाँ शक्तिका १९ नेता- कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी छोड्नु नै डा. भट्टराईका लागि धेरै ठूलो भूल भएकाे भन्दै तत्काल फर्कन अाग्रह गरेका हुन् ।
'मैले भनेको भन्यै छु- बाबुरामजीहरूसमेत यहीँ जोडिन आउनुपर्छ नत्र कुनै भविष्य हुँदैन', प्रचण्डले भने, 'धेरै ठूलो भूल गर्नुभएको छ, ब्लन्डर गर्नुभएको छ।' बाबुरामले पश्चाताप गरी पार्टीमा फर्कनुपर्ने टिप्पणी उनले गरे।
'उहाँले पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ। र, मात्रै उहाँलाई माथि जाने बेलामा आन्नदसँग जान पाइन्छ', प्रचण्डले भने, 'नत्र (उहाँलाई) पोलेको पोल्यै हुन्छ, उहाँलाई दुःख हुन्छ भन्ने चिन्ता हामीलाई छ।'
संविधान घोषणा (२०७२ असोज ३) भएको एक साता नबित्दै असोज ९ गते भट्टराईले तत्कालीन एकीकृत माओवादी परित्याग गरेका थिए। २०७३ जेठ ३० मा उनको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी घोषणा भएको थियो।