पराजुलीले बुझाए राष्ट्रपतिलाई राजीनामा
न्यायपरिषद्का सचिवले ‘पदमुक्त’ भएको पत्र थमाएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पराजुलीले बिहीबार राजीनामा बुझाएका हुन्। बिहान पराजुली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।
महान्यायाधीवक्ता अग्नि खरेलले पराजुलीले राजीनामा राष्ट्रपतिलाई बुझाएको पुष्टि गरे। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले पनि पराजुलीको राजीनामा राष्ट्रपति कार्यालयमा रहेको बताए।
‘पदमुक्त’ भैसकेका पराजुलीले राजीनामा दिन मिल्छ भन्ने प्रश्नमा दवाडीले ‘संविधानमा बुझाउने मात्र व्यवस्था भए अनुसार उनले राजीनामा बुझाएको’ उल्लेख गरे। ‘स्वीकृत गर्नुपर्ने भन्ने संविधानमा रहेनछ’ दवाडीले भने, ‘उहाँको राजीनामा सचिवज्यूकोमा छ।’