१० वर्षभित्र कर्णाली सामाजिक न्यायसहितको समृद्ध प्रदेश: प्रभाकर
काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले अवको १० वर्ष भित्र कर्णाली प्रदेशलाई सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न सम्भव भएको बताएका छन् ।
कर्णाली प्रदेश सरकारको आयोजनामा आज ललितपुरको कुपण्डलमा आयोजित कर्णाली प्रदेशको विकास र समृद्धिको आधार विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री शर्माले कर्णालीको प्राकृतिक श्रोतलाई सही रुपमा परिचालन गरेमा आगामी १० वर्षमा समृद्ध प्रदेश निर्माणको सम्भावना भएको बताएका हुन् । ‘अहिले कर्णाली प्रदेशलाई अति गरीब प्रदेशको रुपमा लिइने गरिन्छ’ अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री शर्माले भने, ‘मेरो विचारमा कर्णाली सम्भावना, सामाजिक न्याय र समृद्धिको नयाँ नाम हो ।’
पूर्वमन्त्री शर्माले कर्णालीप्रदेश सरकारलाई तत्कालै प्राकृतिक श्रोतको नक्साँकन गर्दै त्यसको परिचालनको योजना निर्माणमा लाग्न आग्रह गरे । उनले कर्णाली प्रदेशको जलश्रोतको मात्रै उपयोग गर्दा सिंगै मुलुकले भोगिरहेको खर्वौंको अन्तराष्ट्रिय व्यापार घाटालाई शून्यमा झार्न सकिने धारणा पनि राखे ।
त्यसैगरी कर्णालीलाई पर्यटकीय पूर्वाधारको विकास गरी प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना पनि औंल्याए । ‘यसका लागि मानसरोवर, छायानाथ, रारालगायतका क्षेत्रलाई जोडेर विविधतायुक्त पर्यटकीय सर्किट निर्माण गर्न सरकारले ध्यान देओस्,’ उनले भने ।
कर्णालीको समृद्धिको अर्को महत्वपूर्ण आधार कृषि, जडीवुटी, वन र खानी भएको बताउँदै उनले भूमीको अधिकतम प्रयोग मार्फत कृषिको विकास, जडीवुटीको उपयोग र युरोनियम तथा पेट्रोलियम पदार्थ लगायतका खनिज पदार्थको उत्खननको योजना निर्माणका लागि पनि सुझाव दिए ।
‘सामान्य अवस्थाको योजना र कार्यशैलीले कर्णाली प्रदेशको अहिलेको अवस्था परिवर्तन गर्न सम्भव छैन हामीले बिगबुस दिन जरुरी छ,’ उनले भने, ‘प्रदेश सरकारको नेतृत्वमा कर्मचारी संयन्त्र, स्थानीय सरकार, जनता सवैले दैनिक २० घण्टा काम गर्न तयार हुनुपर्छ ।’
माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहेका शर्माले यी सबै योजना निर्माण, कार्यान्वयन र सरकार संचालनका लागि सबैभन्दा पहिले कानुन निर्माण गर्न उनले प्रदेश सरकारलाई सुझाव दिए ।