राजनीति मुख्य समाचार

विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा संसद्‍मा दु:ख व्यक्त

विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा संसद्‍मा दु:ख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भएको बंगला एअर दुर्घटना घटनाप्रति दुःख व्यक्त गरेका छन्। शुक्रबार संसदमा सम्‍बोधन गर्दै प्रधानमन्त्री ओलीले दुर्घटनापछि गर्नुपर्ने उद्धार तथा उपचारका कार्यमा सरकारको तर्फबाट तत्काल कुनै कमी रहन नदिएको बताए।

 

'घटनास्थलमा कुनै कुराको कमी हुन नपाउने कुराको जानकारी र प्रबन्ध भइसकेपछि घाइतेहरुको उपचारका लागि लगिएका अस्पतालहरुमा गएँ', प्रधानमन्त्री ओलीले भने, 'अस्पतालका कर्मचारी र उपचारमा संलग्न चिकित्सकहरुसँग भेटेर उपचारमा कुनै कमी नहोस् भनेर जानकारी गराएँ। उहाँहरुले घाइते र घाइतेहरुको अवस्थाबारे जानकारी गराए।' पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा दुर्घटना जाचबुझ आयोग गठन गरिएको जानकारी दिँदै प्रधान्मन्त्री ओलीले आयोगले काम शुरु गरिसकेको जानकारी दिए।

 

'आयोगले छिटो प्रतिवेदन बुझाउनेछ र तदनुसार आगामी कामहरु के गर्ने भन्ने सन्दर्भमा कदम चालिनेछ', प्रधानमन्त्री ओलीले भने। घटनापछि नेपाली नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, सशस्त्र प्रहरी, अग्नी नियन्त्रक सबैको साथका कारण तदारुकताका साथ उद्दारकार्य भएको भन्दै प्रधानमन्त्रीले उक्त कार्य प्रशंसनीय रहेको बताए। उक्त घटनालाई सरकारले गम्भिरताका रुपमा लिएको बताए।


'यस घटनालाई नेपाल सरकारले अत्यन्तै दुखद् र गम्भिर घटनाका रुपमा लिएको छ। दुर्घटनाको जानकारी लिन म आफै पनि एअरपोर्ट गए', भने 'गृहमन्त्री, उद्योग बाणिज्य तथा आपुर्ती लगायत तत्काल घटनास्थल पुगेर उद्दार र उपचारमा सिघ्रता ल्याउन निर्देशन दिने र आवश्यक कदम चाल्ने काम तत्काल भए।' तत्काल बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग सम्पर्क गर्ने कोशिस गरेपनि उहाँ विदेश भ्रमणमा रहेका कारण केही समयपछि सम्पर्क भएर उद्दार, उपचारमा कुनै कसर नरहने जानकारी गराएको प्रधानमन्त्री ओलीले बताए।


घटनापछि बंगलादेशका पर्यटन तथा नागरिक उड्डयन मन्त्री कमल काठमाडौं आएर भेटघाट गरी आवश्यक पर्दा (खासगरी उपचारका सन्दर्भमा फरेन्सिक ल्याब टेस्ट, डिएनए टेस्ट, एअर एम्बुलेन्सबाट लगेर उपचार गराउने सम्बन्धमा) पारस्परिक सहयोग गरेर जाने कुरा राखेको जानकारी दिए। फागुन २८ गते भएको बंगला एअर दुर्घटनामा चालक दलका ४ जनासहित ७१ जना सवार थिए।


३३ जना नेपाली ३६ जना बंगलादेशी १ जना चिनियाँ र १ जना माल्दिभ्सका नागरिक सवार विमान दुर्घटना हुँदा २२ नेपाली, २६ बंगलादेशी र १ जना चिनिया नागरिक गरी हालसम्म ३९ जनाको निधन भएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

विशेष