समाज मुख्य समाचार

नेपालगञ्ज कारागारका प्रहरीको आँखामा खुर्सानीको धुलो हालेर कैदी भागेपछि…

नेपालगञ्ज कारागारका प्रहरीको आँखामा खुर्सानीको धुलो हालेर कैदी भागेपछि…

नेपालगञ्ज । हर्नियाको समस्या रहेका कैदी वसीर साईलाई नेपालगञ्ज कारागारका प्रहरीले भेरी अञ्चल अस्पतालमा उपचार गर्न लगे।

 

अस्पतालमा चेकजाँचको प्रक्रिया चलिरहँदा कैदी साईले शौच लागेको बताए। प्रहरी जवान शिव भुसालले साईलाई शौचालय लिएर गए। साई शौचालयभित्र पसेपछि प्रहरी जवान बाहिर ढोकामा उभिरहे।

 

शौचालयको ढोका खुल्यो। कैदी साईले त्यत्तिनै बेला खुर्सानीको धुलो प्रहरी जवान भूसालको आँखामा फाले। र, भागे। आँखा र शरीरमा खुर्सानीको धुलो लागेका प्रहरी जवान भूसाल कराए, ‘कैदी भाग्यो–भाग्यो।’

 

हत्कडी लगाएका कैदी शौचालयबाट दौडेर आपतकालिन कक्षसम्म पुग्न पाएका थिएनन्। विरामीका कुरुवा, एम्बुलेन्सका चालकहरुले समाते। हत्कडी भएकाले साई उम्किन पाएनन्। घटना लगत्तै कारागारबाट थप प्रहरी टोली आएर उनलाई लिएर गए।

 

कारागारबाट पाँच जना प्रहरीले एक/एकजना कैदी लिएर अस्पताल आएका थिए। सबैले आ–आफ्ना कैदीलाई सुरक्षा दिइरहेका थिए। साई भने पूर्वतयारीका साथ आएकाले भाग्ने प्रयास गरेका थिए। कारागारकै मेसबाट साईले खुर्सानीको धुलो पाइन्टमा राखेर गएका थिए। यद्यपि, उनको योजना सफल हुन सकेन।

 

कारागारबाट कैदीलाई भित्र या बाहिर लैजादा शरीर जाँच गरिन्छ। शुक्रबार भने जाँच गरिएको थिएन। जेलर श्याम लामिछानेले जबरजस्ती करणीमा सजाय भोगिरहेका साईले भाग्ने प्रयास गरेको बताए। ‘प्रहरीको आँखामा खुर्सानीको धुलो हालेर भाग्ने प्रयास गरेका थिए, असफल भयो, जेलर लामिछानेले भने, खुर्सानीको धुलो कारागारकै मेसबाट लगेको हुनुपर्छ।’

 

कैदी साईले फालेको खुर्सानीको धुलो परेर आँखा रातो भएका प्रहरी जवान उपचार गरेर फर्किएका छन्। बाँके गनापुरका साई जबरजस्ती करणीमा एक वर्षअघि कारागार आएका हुन्।

 

जेलर लामिछानेले अस्पतालमा यसरी खुर्सानीको धुलो प्रहरीको आँखा फालेर कैदीले भाग्ने प्रयास गरेको पहिलो पटक भएको बताए। यसअघि नेपालगञ्ज कारागारबाट कैदीका नाइके सैफु नाउ भागेपछि जेलरदेखि प्रहरीसम्म निलम्बनमा परेका थिए। सैफु केही महिनापछि बर्दियाबाट पक्राउ परेका थिए।

विशेष