दिनदिनै कांग्रेसका गुटका भेला, देउवाकाे अालाेचना मेला
चैत ९ गते केन्द्रीय समिति बैठक डाकेको नेपाली कांग्रेसका नेताहरु अचेल गुटगत भेलामा व्यस्त हुन थालेका छन्।
सभापति शेरबहादुर देउवाइतरका नेताहरुले छुट्टाछुट्टै भेला आयोजना गरी केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरिरहेका छन्। त्यस्ता भेलामा सभापति देउवाको आलोचनासमेत हुने गरेको छ।
कांग्रेसभित्रका युवा नेताको साथमा गुट चलाइरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले शुक्रबार बत्तिसपुतलीमा आपूm पक्षका नेता, कार्यकर्ता र शुभेच्छुक भेला गरी सभापति शेरबहादुर देउवाको आलोचना गरे।
१३ औं महाधिबेशनमा पार्टी बलियो बनाउने अपेक्षासहित देउवालाई सहयोग गरे पनि अपेक्षाअनुसार काम नभएको उनको गुनासो छ।
भेलामा सिटौलासहित पूर्वमन्त्री गगन थापा, उमाकान्त चौधरी र प्रदीप पौडेल बोलेका थिए।
दश जिल्लाका कांग्रेस सभापति पनि भेलामाउपस्थित थिए।
भेलामा सहभागी कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले यस्ता भेलामा हुने छलफलले पार्टी बलियो हुने जिकिर गरे।
‘कांग्रेसमा शुद्धिकरण हुन आवश्यक छ। यथास्थितीमा पार्टी अघि बढ्दैन, संगठन सृदृढीकरणमा ढिलाइ गर्नुहुन्न,’ पौडेलले भने, ‘पार्टीलाई कसरी अघि बढाउने, प्रभावकारी प्रतीपक्ष कसरी बन्ने र सशक्त ढंगले कसरी अघि बढ्न सकिन्छ भन्नेबारे छलफल गरेका हौं।
समूह–समूहका यस्ता छलफलले नै पार्टी बलियो बन्छ। यसलाई अस्वभाविक रूपमा लिनु हुन्न।’
उनले भिन्नाभिन्नै समूहमा छलफल भए पनि सबैको चाहना पार्टी बलियो बनाउने रहेकाले नेतृत्वलाई खुइल्याएर पार्टी सशक्त बन्न नसक्ने पनि बताए।
‘पार्टीभित्र एकअर्कासँग लड्ने, भिड्ने होइन। हामी कसरी सशक्त प्रतिपक्ष बनाउने भन्नेमा केन्द्रीत छौं,’ पौडेलले भने।
चैत ९ गते केन्द्रीय समितिको बैठक बस्ने भएकाले त्यो बैठकमा कस्ता एजेन्डा उठाउने भन्नेबारे सिटौला समूह आन्तरिक गृहकार्यमा जुटेको छ।
‘केन्द्रीय समिति बैठकमा केही न केही फरक एजेन्डासहित प्रस्तुत हुन्छौं, एजेण्डा के हुन् अहिले नै नभनौं’ पौडेलले भने।
यसअघि बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफू पक्षका नेताहरूको भेला डाकेका थिए।
सो भेलामा पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र ३१ जिल्ला सभापति सहभागी थिए।
पौडेलले भेलामा सभापति देउवा असफल भइसकेको र एकपक्षीय ढंगले अघि बढेको बताएका थिए।
पौडेल समूहको भेला सिनामंगलस्थित एक होटलमा पाँच घन्टा चलेको थियो।
भेलामा सहभागी जिल्ला सभापतिले सभापतिहरूको राष्ट्रिय भेला गरी चुनावी पराजयका कारण खोजी गर्दै अन्तरघात गर्नेलाई कारबाही गर्नु पर्ने सुझाव दिएका थिए।
कांग्रेसका नेतैपिच्छे किन ठाउँठाउँमा गुटका भेला भइरहेका छन्? भन्ने प्रश्नमा पौडेल पक्षका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘केन्द्रीय समिति बैठक चैत ९ गते छ, त्यसका लागि भिन्नभिन्नै ठाउँमा छलफल गरिएको हो। भेला फरक भए पनि पार्टीलाई कसरी बलियो बनाउने भन्नेबारे नै छलफल गरेका छौं।’
बहसले नै पार्टी थप सशक्त हुने भएकाले यस्ता भेला र बैठकलाई अन्यथा रूपमा लिन नहुने जोशीको तर्क छ।
देउवाको आलोचना
सभापति देउवाको पार्टीभित्र आलोचना हुनुमा मुख्यतः तीन कारण छ्न।
उनको आलोचनाको पहिलो कारण महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारी, विभाग तथा भातृसंस्थाहरुलाई पूर्णता दिन नसक्नु हो।
स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा पार्टी हारका कारण खोजी गर्न केन्द्रीय समिति र महासमिति बैठक नबोलाएको भन्दै देउवाको आलोचना भइरहेको छ।
मुलुक संघीय संरचनामा गए पनि कांग्रेस पूरानै विधानअनुसार चलिरहेको छ। संघीय संरचनामा जान ढिला गर्न नहुनेमा आवाज उठे पनि यसबारे कांग्रेसले गृहकार्य सुरु नगर्दा सभापति देउवा आलोचित हुने गरेका छन्।