उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ ।
दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ । पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् ।
यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् । राष्ट्रपतिमा प्रतिस्पर्धा गरेको प्रमुख विपक्षी दल कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन ।
राष्ट्रपति विद्या भण्डारीले तटस्थता कायम राख्न नसकेकाले उम्मेद्वारी दिएकाे र उपराष्ट्रपतिमा भने पुनकाे राम्राे भुमीका रहेकाले उम्मेद्वारी नदिएकाे कांग्रेस नेता मीन विश्वकर्माले बताए ।