राजनीति

मन्त्री छान्न फोरममा विवाद : राजेन्द्र पछि हटे, रेणुलाई पठाउन उपेन्द्रको जोड

मन्त्री छान्न फोरममा विवाद : राजेन्द्र पछि हटे, रेणुलाई पठाउन उपेन्द्रको जोड

काठमाडौं । नयाँ सरकारमा सहभागी हुने विषयलाई लिएर संघीय समाजवादी फोरम नेपालमा विवाद सिर्जना भएको छ। मन्त्रीको नाम टुंगो लाग्न नसक्दा शुक्रबार गरिएको मन्त्रिपरिषद् विस्तारमा फोरम सहभागी भएन।

 


सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने विषयलाई लिएर पार्टीभित्रका मधेश केन्द्रित सांसदहरुले विरोध गरेपछि फोरममा विवाद उत्पन्न भएको हो। प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्रबाट ८ हजार मत मात्र ल्याएका श्रेष्ठलाई मन्त्री बनाउन नहुने असन्तुष्ट सांसदहरुको दलिल छ।

 


पार्टी नेतृत्वले समेत खासै चासो नदेखाएपछि नयाँ सरकारमा श्रेष्ठ सहभागी हुने सम्भावना लगभग सकिएको फोरमका एक नेताले बताए। ‘पार्टीभित्रका साथीहरुको माग र कार्यकर्ताको भावनाको कदर गर्दै राजेन्द्रजी समेत पछि हटेको स्थिति हो,’ उनले भने।

 


केपी ओली नेतृत्वको नयाँ सरकारमा फोरमले दुई मन्त्रालयसहित एक राज्यमन्त्री पाएको छ। फोरम अध्यक्ष उपेन्द्र यादवले सुरुवाती चरणमा उपप्रधानमन्त्री पाएमात्र सरकारमा जाने नभए राजेन्द्र श्रेष्ठको नेतृत्वमा अन्यलाई सरकारमा पठाउने अनौपचारिक रुपमा बताउँदै आएका थिए।

 


प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित सरकारमा आउन फोरम अध्यक्ष यादवलाई आग्रह गरेका थिए। प्रधानमन्त्रीले परराष्ट्रसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय फोरमलाई ‘अफर’ गरेका थिए। तर फोरमले उपप्रधानमन्त्री सहित तीन मन्त्रालय माग गर्यो। अन्तिममा दुई विकासे मन्त्रालयमा सरकारसँग सहमति बन्यो। सोही अनुसार फोरमले सहरी विकास र स्वास्थ्य मन्त्रालय पाएको छ।

 


सुरुमा उपप्रधानमन्त्री नपाए सरकारमा नजाने बताउँदै आएका फोरम अध्यक्ष यादवले अन्तिम समयमा निर्णय परिवर्तन गरेका छन्। उनी आफै सहरी विकास मन्त्रालयसहित सरकारमा जाने तयारीमा छन्।


बाँकी रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेमा पार्टीभित्र विवाद छ।

 


अशोक राई समूहका बलिया प्रतिस्पर्धी राजेन्द्र श्रेष्ठको नाममा विवाद भएपछि कसलाई पठाउने भन्ने विषयमा अध्यक्ष यादवसमेत मौन छन्।

 


स्रोतका अनुसार श्रेष्ठ नभए रेणु यादवलाई मन्त्री बनाउन अध्यक्ष यादवले जोड गरेका छन्। रेणुको पक्षमा निर्णय गराउन समस्या देखिएपछि यादवले पार्टी बैठक समेत तत्कालका लागि टारेका छन्।

 


मन्त्री बनाउन क्षेत्रीय सन्तुलन मिलाउनुपर्ने र एउटै क्लस्टरबाट मात्र छनोट गर्न नहुने मत फोरमभित्र बलियो छ। सोही कारण रेणुलाई मन्त्री बनाउन यादवलाई समस्या छ।

 

राजेन्द्र श्रेष्ठ र रेणु यादवलाई पठाउन यादवलाई समस्या भए विकल्पबारे पनि पार्टीभित्र छलफल चलिरहेको छ। चर्चामा छन्, मोहम्मद इस्तियाक राई।

 

बाँके २ बाट प्रतिनिधिसभा निर्वाचन जितेका राई मन्त्री बन्ने देखिएको छ। फोरमको प्रभाव क्षेत्र बाँकेमा उनको जनाधारसमेत बलियो छ।

 

स्थानीय निर्वाचनसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा फोरमले बाँकेमा राम्रो शक्ति प्रदर्शन गरेको थियो। पार्टीभित्र इमानदार छवि बनाएका राईको नाममा सर्वसम्मति हुन सक्ने फोरमका एक नेताले बताए।

 

‘तर अध्यक्ष यादवले रेणु यादवलाई नै मन्त्री बनाए भने पनि अचम्म नमान्दा हुन्छ,' उनले भने।

विशेष