सरकार विस्तारमा विवाद, ओली चाहन्छन् : राजपा, प्रचण्ड चाहन्छन् : फोरम
ओली भन्छन्ः यादवलाई काम गराउन गाह्रो छ
काठमाडौं । मधेसी दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई सरकारमा सामेल गराउने विषय पेचिलो बन्दैगएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र वाम गठबन्धनका अर्का मुख्य नेता पुष्पकमल दाहाल प्रचण्डबीच मत बाझिएपछि सरकारमा कसलाई सामेल गराउने भन्ने विषय जटिल बनेको हो ।
प्रधानमन्त्री केपी ओली राजपालाई प्राथमिकता साथ सरकारमा सामेल गराउन चाहन्छन् भने प्रचण्डले फोरमलाई महत्व दिँदैआएका छन् ।
पुरानो सम्बन्ध र राजनीतिक मुद्दा समेत मिल्ने भएपछि प्रचण्डले राजपा भन्दा बरु फोरमलाई नै सरकारमा ल्याउनुपर्नेमा जोड दिँदैआएका छन् ।
पछिल्ला केही बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई यही कुरालाई लिएर दबाब दिँदैआएको बुझिएको छ । ओली भने राजपालाई सरकारमा ल्याउँदा ‘भारतसँगको फेस सेभिङ’ हुने भन्दै राजपालाई नै सरकारमा ल्याउन प्रयासरत छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली ‘उपेन्द्र यादवलाई चलाउन गाह्रो मान्छे’ भन्दै उनलाई सरकारमा ल्याउन नै तयार नदेखिएका हुन् ।
त्यसो त, फोरम नेता यादव र ओलीबीच व्यक्तिगत रुपमै थुप्रै पटक विवाद उत्पन्न हुँदैआएको छ । उनीहरुबीच राजनीतिक मुद्दाबारे पनि थुप्रै असमझदारी छन् ।
यादवले समेत प्रचण्ड नेतृत्वको सरकारमा जान सकिने भन्दै अभिव्यक्ति दिएका थिए । केपी तिनै पुराना घटनाक्रम अवलोकन गर्दै एउटै सरकारमा रहेर ‘यादवलाई काम गराउन अप्ठ्यारो हुने’ निष्कर्षमा पुगेका हुन् ।
यद्यपि सरकारमा फोरमको पनि सामेल हुने सम्भावना बलियो नै छ । प्रचण्डकै दबाबमा यादवलाई सरकारमा लैजान केपी तयार देखिएको उनी निकट स्रोतको दाबी छ ।