राजनीति मुख्य समाचार

पहाडी भेगमा जातीय आन्दोलन उठाउन उपेन्द्र यादव सक्रिय भएकाे खुलासा

पहाडी भेगमा जातीय आन्दोलन उठाउन उपेन्द्र यादव सक्रिय भएकाे खुलासा

काठमाडौं । फोरम अध्यक्ष उपेन्द्र यादवले आफ्ना सांसद र केन्द्रीय नेताहरुबीच एउटा विशेष कुरा खुलासा गरेका छन् । उनका अनुसार अब चाँडै काठमाडौं उपत्यकामा नेवारहरुको नाममा ठूलो आन्दोलन हुनेछ । त्यसैगरी एक नम्बर प्रदेशमा किराँत लिम्बूवानको नाममा त्यस्तै ठूलो आन्दोलन हुनेछ । आन्दोलनका लागि सबै तयारी पूरा गरिएको पनि उनको दावी छ ।


फोरमले नगरकोटमा आफ्ना सांसदहरुका लागि दुई दिने प्रशिक्षण आयोजना गरेको थियो । सो प्रशिक्षणमा सांसद राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाइने तथा पहाडी समुदायसँगको सम्बन्धलाई लिएर विवाद भएको थियो । सो विवादमा जवाफ दिँदै उपेन्द्रले त्यस्तो दावी गरेको बताइएको छ ।

 


स्रोत अनुसार उपेन्द्रले आफूहरु सरकारमा गए पनि आन्दोलन हुने र नगए पनि आन्दोलन हुने दावी गरेका थिए । उनले पहाडी क्षेत्रहरुमा आन्दोलन उठाउने आफूहरुको प्रयास सधैं असफल भएको तर अब सफल हुने बताए । वैठकमा सहभागी एक नेताका अनुसार यादवले त्यसरी आन्दोलनको खुलासा गर्नुपर्ने कारण थियो– राजेन्द्र श्रेष्ठ र अशोक राईको नाममा विवाद हुनु ।

 


वैठकमा सहभागीहरुले राजेन्द्र श्रेष्ठ र अशोक राईलाई फोरममा ल्याएपछि पनि पहाडमा आन्दोलन उठ्न नसकेको, पहाडी क्षेत्रमा फोरमलाई भोट नआएको भन्दै विरोध गरेका थिए । उपेन्द्रले भोट नआए पनि अब जातीय आन्दोलन नयाँ उचाईमा उठाउन राजेन्द्र र अशोकले ठूलो तयारी गरिरहेको दावी गरेका थिए ।

 


सो वैठकमा राजेन्द्र श्रेष्ठ चाहिँ थिएनन् । उनको अनुपस्थितिलाई लिएर पनि प्रश्न उठाइएको थियो । जवाफमा उपेन्द्रले जातीय आन्दोलन उठाउन काठमाडौंमा निरन्तर वैठक आयोजना गरिएको र ती वैठकको संयोजन राजेन्द्रले गरिरहेकोले वैठकमा आउन नआएको बताएका थिए । उपेन्द्रले बताए अनुसार जातीय आन्दोलन उठाउन विभिन्न जातीय संस्थाहरु र अन्तर्राष्ट्रिय निकायहरुसँग समन्वय गर्ने वैठक निरन्तर आयोजना भइरहेको छ । यसमा राजेन्द्रले नेतृत्व गरिरहेका छन् ।

 


उपेन्द्रले दावी गरे अनुसार प्रदेश नम्बर एकको नाम लिम्बूवान या किराँत हुनुपर्छ भन्ने माग चर्काउन विभिन्न जातीय संस्था तथा संगठनहरुसँग फोरमले धेरै चरणको वैठक गरिसकेको छ । उनले प्रदेश नम्बर एक र काठमाडौंलाई लक्षित गरेर जातीय आन्दोलन चर्काइन लागेको हुनाले अहिले मधेस आन्दोलन र संविधान संशोधनलाई नचर्काइएको बताए ।

 


‘मधेस र पहाडमा एकसाथ आन्दोलन उठ्दैन भन्ने अनुभव भइसक्यो, त्यसैले अब पहाडमा जातीय आन्दोलन उठाउने र त्यो आन्दोलनलाई मधेसले समर्थन गर्ने रणनीति अपनाइएको छ । विभिन्न विदेशी शुभेच्छुकहरुले पनि यही सुझाव दिएका छन्,’ उपेन्द्रलाई उदृत गर्दै ती नेताले भने ।

 


उनले काठमाडौं उपत्यका रहेको तीन नम्बर प्रदेशको नाम नेवा प्रदेश नाम राख्न पनि आन्दोलन उठाइने बताए । उनले गुनासो गर्दै भने–‘लिम्बूवान र नेवाको आन्दोलनको पछाडि हामी मधेसीहरु छौं भन्ने देखियो भने आन्दोलन नै उठ्दैन । त्यसैले हामी धेरै बोल्न हुँदैन ।’

 


उनले आफ्नो पार्टीको पहलमा एक नम्बर प्रदेशको नाम लिम्बूवान या किराँत राख्न हस्ताक्षर अभियान थालिएको पनि बताए । पहाडी क्षेत्रमा जातीय आन्दोलन उठाउन अब अशोक राई र राजेन्द्र श्रेष्ठको भूमिका हुने भएकाले हिजो चुनावमा कति भोट आयो भनेर उनीहरुको महत्व नघटनाउन पनि उपेन्द्रले आग्रह गरे ।

 


स्रोतले उपेन्द्रलाई उदृत गर्दै भन्यो–‘प्रदेशको नाम राख्ने विषयमा जातीय आन्दोलन उठाउन सकिएन भने पहाडी क्षेत्रको जातीय आन्दोलनले ठूलो धक्का खान्छ र मधेस आन्दोलन पनि कमजोर हुन्छ । त्यसैले पहाडका नेताहरुको विषयमा बोल्दा विचार पुर्‍याउनुहोला ।’

 


उनले भारत, चीन र पश्चिमा शक्तिहरुको नेपालमा भूमिका र क्रियाकलापबारे सार्वजनिक रुपमा नबोल्न पनि सांसदहरुलाई निर्देशन दिएका छन् । उनको भनाई थियो– ‘नेपालमा जातीय आन्दोलन उठाउन उहाँहरु सबैले शुभेच्छुकका रुपमा भूमिका खेलिरहनुभएको छ । त्यसैले नेपालको विदेश नीति र मित्र राष्ट्रहरुको बारेमा कुनै टिप्पणी नगर्नुहोला ।’

 

स्रोत अनुसार उपेन्द्रले हरेक सांसदहरुलाई एकएकवटा एनजीओको नाम सिफारिस गर्न पनि भनेका छन् । ती एनजीओलाई विभिन्न कार्यक्रम उपलब्ध गराइने उनको भनाई छ ।

विशेष